
काठमाडौं ।
फिफा अरब कपमा सेमि-अटोमेटेड अर्थात् अर्ध-स्वायत्त अफसाइड प्रविधि परीक्षणका रुपमा प्रयोग गरिने बुझिएको छ।
मंगलबारबाट शुरु हुने उक्त प्रतियोगितामा परीक्षणका रुपमा प्रयोग हुने यो प्रविधिले अधिकारीहरुलाई अफसाइडको सही निर्णय लिन सहयोग गर्ने अपेक्षा गरिएको छ।
सेमि-अटोमेटेड अफसाइडले १० देखि १२ ओटा क्यामराको प्रयोग गरेर प्रति सेकेन्ड प्रति खेलाडी ५० पटक २९ ओटासम्म डाटा प्वाइन्ट टिपेर विश्लेषण गर्ने बताइएको छ।
बीबीसीका अनुसार यदि यो प्रविधिले कुनै सम्भाव्य अफसाइड देखेमा भीएआर अर्थात् भिडियो असिस्टेन्ट रेफ्रीलाई एउटा संकेत पठाउँछ र उसले त्यसैका आधारमा अफसाइडको सिट्ठी फुक्छ।
यो प्रविधिको अहिलेको परीक्षण सुखद् रहेमा सन् २०२२ को फिफा विश्वकपमा प्रयोग गर्न सकिने पनि बताइएको छ।
‘भीएआरको प्रभाव फुटबलमा निकै राम्रो रहेको र यसले थुप्रै ठूला गल्तिहरुलाई घटाएको छ, तर सुधार गर्नुपर्ने ठाउँ अझै बाँकी छन्, अफसाइड तिनैमध्येको एक हो’, फिफाका रेफ्री अधिकारी पियरलुइजी कोलिनाले भने।
उनले मैदानका रेखाहरु पूर्ण रुपमा सही नहुन सक्ने भएकाले जटिल अफसाइडको निर्णय जाँच गर्न अरु गल्तिको भन्दा बढी समय लाग्ने आफूहरुले महसुस गरेको पनि थपे।
यसै हिसाबले फिफाले अझ सही निर्णय होस् भनेर एउटा प्रविधिको विकास गरेको र यसैलाई सेमि-अटोमेटेड अफसाइड भनिएको उनको भनाइ थियो।
प्रकाशित: १४ मंसिर २०७८, मंगलवार