एप्लिकेसनले कार्यालयको सेवा प्रवाहमा सुधार

  • Technology Khabar | १४ मंसिर २०७८, मंगलवार
एप्लिकेसनले कार्यालयको सेवा प्रवाहमा सुधार

काठमाडौं ।

दोलखाको कालिञ्चोक गाउँपालिकाको सेवा प्रवाहमा उल्लेखनीय परिवर्तन आएको छ। विद्युतीय माध्यमको ‘कोबोकलेक्ट’ नामक एप्लिकेसन सञ्चालनमा ल्याएपछि सेवा प्रवाहमा परिवर्तन आएको हो।

पालिकाका प्रमुख कार्यकारी अधिकृत नवराज सेढाईंकाअनुसार एप्लिकेसन सञ्चालन गरिएको करिब एक महिनामै परिवर्तन देखिएको छ। उनले भने, “कुनै छु मन्त्र गरेको होइन, रुल अफ ल लागू गरिएको हो।’

एप्समार्फत प्रशासनिक अनुगमन गरिएको पनि उनले उल्लेख गरे। उनका अनुसार कर्मचारीको नियमित १०–४ को कार्यालय समयको काम, अनिवार्य पोसाकलगायतका अनुशासन पालनामा जोड दिइएको छ।

प्रमुख कार्यकारी अधिकृत सेढाईंले भने, “हाम्रो आँखा छल्ने प्रवृत्ति रोकिएको छ। काम नियमित भएका छन्। कार्यालय समयमा १०ः३० बजेसम्म कर्मचारी बैठक हुन्छ। बैठकमा सबैले दिनभरि के काम गर्ने भन्नेबारेको कार्ययोजना पेस गर्नुपर्छ। कार्ययोजना उपलब्धिमूलक हुनुपर्छ। बेलुका उपलब्धिसहितको प्रतिवेदन एप्लिकेसनमा राख्नुपर्छ। यसरी राखिएको प्रतिवेदनको भोलिपल्ट समीक्षा हुन्छ। एप्लिकेसनमा सबैको काम सबैले हेर्छन् स्व मूल्याङकन पनि हुन्छ। एप्लिकेसनमा सबै प्रकारका फर्म राखिएका छन्।’

हाजिर भएपछि सबैले नोट क्याम्पमा सेल्फी खिचेर एप्लिकेसनमा राख्ने व्यवस्था गरिएको छ। एप्लिकेसनले अनुशासित गराउने काम भएको छ।

पालिकामा अहिले अनुशासन, नियमित, पारदर्शीसमेत भएको छ। यसले एक अर्कामा समन्वय र सम्बन्ध बढाएको छ। पालिकाका कृषि, पशु, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका शाखाको संस्थागत विकास भएको छ। अहिले त बिदा बस्न पनि कम भएको प्रमुख कार्यकारी अधिकृत सेढाईंले जानकारी दिए।

पूर्वाधार शाखा प्रमुख इन्जिनियर नारायण शिवाकोटीले भने, “काम गरिरहेको स्काभेटरले कति काम गर्यो, कति तेल खर्च भयोलगायतका जानकारी एप्लिकेसनमा आइरहन्छ। काम हुँदै सजिलो र पारदर्शी हुन पुगेको छ।”

पालिकाका नौवटै वडा कार्यालयमा एप्लिकेसन सञ्चालनमा आइसकेको छ। यसबाट कहाँ के भइरहेको छ भन्ने जानकारी भइरहन्छ।

पालिका भित्रका विद्यालयमा शिक्षक उपस्थिति, विद्यार्थी सङ्ख्यालगायतको विवरण एप्लिकेसनमा आउने व्यवस्था गरिसकिएको छ। नआउने शिक्षकको नामसहितको विवरण तयार छ। विस्तारै सबै शिक्षकको पनि कामकारबाहीको विवरण एप्लिकेसनमा आउनुपर्ने व्यवस्था पनि हुन थालेको छ।

भए गरेका कामकारबाहीको साप्ताहिक विवरण पालिकाका अध्यक्ष र उपाध्यक्ष समक्ष पेस गर्ने र पालिकाको बैठकमा समेत समीक्षा गर्ने वातावरण बनाउन लागिएको प्रमुख कार्यकारी अधिकृत सेढाईले जानकारी दिए। गोरखापत्र

प्रकाशित: १४ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार