सार्वजनिक यातायातमा जीपीएस जडान सुरु

  • Technology Khabar | १४ मंसिर २०७८, मंगलवार
सार्वजनिक यातायातमा जीपीएस जडान सुरु

काठमाडौं ।

सार्वजनिक यातायातलाई जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम)मा भेहिकल ट्र्याकिङ सिस्टम (भीटीएस) प्रणालीमा जोड्ने काम सुरु भएको छ । यातायात व्यवस्था विभागले परीक्षणस्वरूप १७ वटा बसमा जीपीएस जडान गरिसकेको छ । एक सयवटा सवारीमा निःशुल्क सेवा दिएर जडान गरिने भएको छ।

“भेहिकल ट्र्याकिङ सिस्टम सुरु भएको छ । अहिले प्रत्यक्ष रूपमा अनलाइनबाट नियमन गरिरहेका छौँँ । एक सातामा सयवटा गाडीमा राख्छौँ । त्यसपछि सबै सार्वजनिक गाडीमा जडान गर्छौं, ”विभागका महानिर्देशक नमराज घिमिरेले भने।

विभागका अनुसार काठमाडौँ–पोखरा, काठमाडौँ–वीरगञ्ज, काठमाडौँ–जनकपुर रुटका सवारीमा जीपीएस सुरु गरिएको छ। जीपीएस लागूू गरिएपछि नियन्त्रण कक्षबाट देशभरका सार्वजनिक सवारी व्यवस्थापन र नियमन गर्न सकिनेछ ।

विभागका अनुसार ८० प्रतिशत सवारी दुर्घटना उच्च गतिमा सवारी चलाएका कारण हुन्छन् । राजमार्गमा तोकिएभन्दा उच्च गतिमा दौडने प्रवृत्तिलाई जीपीएस सिस्टमले नियमन गर्ने हुँदा सवारी दुर्घटना कम हुने महानिर्देशक घिमिरेको भनाइ छ ।

जीपीएसमार्फत गाडीको रुट, गतिलगायतका जानकारी ट्राफिक प्रहरीलाई अनलाइनमै हुनेछ । गाडीको गति र स्थानको जानकारी हुनेछ । साथै सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न सहयोग हुने विभागको दाबी छ । नियमन र अनुगमन प्रभावकारी भई ट्राफिक व्यवस्थापनमा सहज हुने विभागको भनाइ छ ।

विश्व बैङ्कको सहयोगमा पाइलट परियोजनाका रूपमा जीपीएस जडान गरिँदै छ । सार्वजनिक यातायातमा जीपीएस जडान गरिसकेपछि सरकारी गाडीहरूमा गरिने विभागको योजना छ ।

यातायात व्यवस्था विभागले उपत्यकाका सडकहरूलाई तीन तहमा विभाजन गरी प्राथमिकीकरण गरेको तीन वर्ष हुँदा पनि कार्यान्वयन गरेको छैन । सवारीसाधनको चाप व्यवस्थित गर्नुका साथै ट्राफिक व्यवस्थापनका लागि नयाँ रुट प्रणालीमा लैजान सडकलाई प्राथमिकीकरण गरिएको थियो ।

विभागले तीन तहको रुटको अवधारणामा प्राथमिक, द्वितीय र तृतीय गरी छुट्याएको थियो । प्राथमिक रुटमा चक्रपथसँगै आसपासका सडकलाई लिइएको छ, जहाँ ठूला सवारीसाधन र यात्रुवाहक सवारीसाधनलाई चल्न दिने भनिएको थियो । द्वितीय रुटमा मझौला सवारीसाधन सञ्चालन हुनेछन् ।गोरखापत्रबाट

प्रकाशित: १४ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...