विदेशबाट तोकिएभन्दा बढी मोबाइल फोन, ल्यापटपलगायतका सामग्रीहरु ल्याए जफत हुने

  • Technology Khabar | १३ मंसिर २०७८, सोमबार
विदेशबाट तोकिएभन्दा बढी मोबाइल फोन, ल्यापटपलगायतका सामग्रीहरु ल्याए जफत हुने

काठमाडौं ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट नेपाल आउने यात्रुले तोकिएको परिमाणभन्दा बढी मोबाइल फोन, ल्यापटप, सुन, मदिरालगायतका सामग्रीहरु ल्याएमा जफत हुने विषय पुनः जानकारी गराएको छ।

नेपाली नागरिकले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनको लागि १ थान मोबाइल र एउटा ल्यापटप मात्र ल्याउन पाउने भन्दै त्यस भन्दा बढि सामग्रीहरु ल्याएको खण्डमा तोकिएको भन्सार शुल्क तिर्नुपर्ने उल्लेख गरेको छ।

सो कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने नेपाली यात्रुले प्रचलित कानुनले दिएको सुविधाभन्दा बढी परिमाण र स्वरुपमा साथमा त्यस्ता सामग्री ल्याएको पाइएमा कानुनबमोजिम कारवाही हुने स्पष्ट गरेको छ। यात्रुमा प्रचलित कानुनी व्यवस्थाको पर्याप्त जानकारी नभएको एवं अन्य अपरिचित व्यक्तिले ललाइफकाइ त्यस्ता सामग्री पठाउने गरेको भनी बयान दिने गरेको विषयप्रति सो कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाली नागरिक विदेशमा गई स्वदेश फर्कदा व्यक्तिगत प्रयोगका लागि सुनको गहना ५० ग्राम, एउटा ल्यापटप, एक थान मोबाइल र एक लिटरसम्मको एक बोतल मदिरा मात्र भन्सार महशुल छुटमा ल्याउन पाइने जानकारी दिइएको छ।

कार्यालयद्वारा जारी सूचनामा ५० ग्रामभन्दा थप २०० ग्रामसम्मको सुनका गहनालाई भन्सार महशुल लिइए जाँचपास गर्न सकिने, सोभन्दा बढी ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने उल्लेख छ। व्यक्तिगत प्रयोगका सुनका गहनाबाहेक अन्य जुनसकै स्वरुपको सुन अधिकतम १०० ग्रामसम्मलाई भन्सार महशुल लिइ जाँचपास गर्न सकिने तथा सोभन्दा बढी परिमाणको सुन जफत गरिने उल्लेख छ।

व्यक्तिगत प्रयोगका लागि भए पनि एकभन्दा बढी ल्यापटप र मोबाइल फोन ल्याएमा भन्सार महसुल लाग्ने तथा मदिराका हकमा भने एकभन्दा बढी बोतल भए जफत गरिने जानकारी दिइएको छ।

अपरिचित व्यक्तिले दिएको रेडियो, स्पीकर, आईरन, मिक्सचरलगायतका मालवस्तुमा अन्य कुनै अवैध वस्तु लुकाइएको छैन भन्ने सुनिश्चित नभएसम्म अरु कसैको मालवस्तु नलिन र नल्याउन पनि सबैलाई अनुरोध गरिएको छ।

प्रकाशित: १३ मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...