
काठमाडौं ।
अमेरिकाले राष्ट्रिय सुरक्षा र विदेश नीतिको चिन्तालाई उद्धृत गर्दै झण्डै एक दर्जन चिनियाँ कम्पनीहरूलाई आफ्नो व्यापार कालोसूचीमा थपेको छ।
केही कम्पनीहरूले चिनियाँ सेनाको क्वान्टम कम्प्युटिङ कार्यक्रम विकास गर्न मद्दत गरिरहेको अमेरिकाले आरोप लगाएको छ।
ताइवानलाई लिएर अमेरिका र चीनबीच बढ्दो तनावपछि यो पछिल्लो कदम चालिएको हो ।
यस महिना अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भर्चुअल बैठकमा छलफल भएको एउटा विषय दुई देशबीचको व्यापार पनि थियो।
अहिले अमेरिकाले आठ चिनियाँ प्रविधि कम्पनीलाई आफ्नो कालोसूचीमा राखेको छ। कम्पनीहरूलाई चिनियाँ सेनाको क्वान्टम कम्प्युटिङ कार्यक्रमलाई सहयोग गरेको र “सैन्य प्रयोगको लागि अमेरिकी सामानहरू प्राप्त गर्ने प्रयास” गरेको आरोप लगाइएको छ।
अमेरिकी वाणिज्य विभागले उल्लेख गरेअनुसार “पाकिस्तानको असुरक्षित आणविक गतिविधि वा ब्यालिस्टिक मिसाइल कार्यक्रम” मा संलग्नताको लागि यस सूचीमा चीन र पाकिस्तानमा कार्यरत १६ व्यक्ति र संस्थाहरू थपिएका छन्।
यो प्रतिबन्धित सूचीमा चीन, जापान, पाकिस्तान र सिंगापुरबाट कुल २७ नयाँ संस्था थपिएका छन्।
चिनियाँ टेलिकम कम्पनी ह्वावे अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा भएको दाबी गर्दै सन् २०१९ मा यो सूचीमा समावेश गरेको थियो। यो कदमले गर्दा कम्पनीलाई मोबाइल फोन उत्पादन गर्न गाह्रो भयो।
चिनियाँ सरकारले आफ्ना कम्पनीहरू औद्योगिक जासुसीमा संलग्न भएको कुरालाई पहिले नै अस्वीकार गरिसकेको छ।
प्रकाशित: ९ मंसिर २०७८, बिहीबार