नेपाल टेलिकमको बजार हिस्सामा वृद्धि, एनसेल र स्मार्टको गिरावट

  • Technology Khabar | ८ मंसिर २०७८, बुधबार
नेपाल टेलिकमको बजार हिस्सामा वृद्धि, एनसेल र स्मार्टको गिरावट

काठमाडौं ।

नेपालका दूरसञ्चार सेवा प्रदायकहरुमध्ये आर्थिक वर्ष २०७८/७९ को तेस्रो महिना असोजमा नेपाल टेलिकमले बजार हिस्सा प्रतिशत बढाएको छ भने  स्मार्ट टेलिकम र एनसेल आजियाटा लिमिटेडले केही गुमाएका छन्।

हालै नेपाल दूरसञ्चार प्राधिकरणले अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्मको वार्षिक प्रतिवेदन अनुसार नेपालमा सेवा प्रदान गर्दै आएका मुख्य तीन दूरसञ्चार सेवा प्रदायकहरुको बजारको हिस्सामा अघिल्लो महिनाका तुलनामा यस प्रकारको उतार चढाव आएको पाइएको हो।

प्रतिवेदन अनुसार २०७८ को भदाै मसान्तसम्म नेपाल टेलिकमले समग्र बजारको ५३.८१ प्रतिशत हिस्सा ओगटेकोमा असोज मसान्तसम्मको एक महिनामा उक्त आँकडामा केही सकारात्मक वृद्धिसहित ५४.०६ प्रतिशत पुर्याएको छ।

यस हिसाबले हेर्दा नेपाल टेलिकमले आफ्नो बजार हिस्सामा ०.२५ प्रतिशतले बढोत्तरी गर्न सफल भएको छ।

यस्तै निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटाले भने असोज महिनाको अवधिमा आफ्नो बजार हिस्सा केही मात्रामा गुमाएको छ।

भदाै मसान्तसम्म एनसेल आजियाटाको बजार उपस्थिति ४०.४१ प्रतिशत रहेकोमा असोज मसान्तसम्म आइपुग्दा यो आँकडा घटेर ४०.१९ प्रतिशतमा आइपुगेको छ।

यसरी हेर्दा एनसेल आजियाटाले एक महिनाको अवधिमा आफ्नो बजार हिस्सा ०.२२ प्रतिशतले गुमाएको देखिन्छ।

नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिवेदन अनुसार स्मार्ट टेलिकमले पनि आफ्नो समग्र बजार हिस्साको केही प्रतिशत गुमाएको छ।

भदाै मसान्तसम्म स्मार्ट टेलिकमको बजार उपस्थिति ५.७८ प्रतिशत रहेकोमा असोज मसान्तमा आइपुग्दा यो आँकडा केही घटेर ५.७४ प्रतिशतमा झरेको छ।

यस हिसाबले हेर्दा बजार हिस्साका आधारमा एक महिनाको अवधिमा स्मार्ट टेलिकमले ०.०४ प्रतिशतले  गिरावट भोगेको छ।

दूरसञ्चार क्षेत्रका अन्य सेवा प्रदायकको उपस्थिति भने धेरै समयदेखि ०.०१ प्रतिशत नै रहेको छ र यसमा असोज मसान्तसम्म आइपुग्दा पनि कुनै घटबढ देखिएको छैन।

प्रकाशित: ८ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार