नेपाल टेलिकमले पायो फाइभजी परीक्षणको लागि अनुमति, कम्तिमा ४ महिना लाग्ने अनुमान

  • Technology Khabar | ७ मंसिर २०७८, मंगलवार
नेपाल टेलिकमले पायो फाइभजी परीक्षणको लागि अनुमति, कम्तिमा ४ महिना लाग्ने अनुमान

काठमाडौं ।

नेपाल टेलिकमले फाइभजी परीक्षणको लागि अनुमति पाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको कात्तिक २९ गते बसेको बोर्ड बैठकले टेलिकमलाई ५जी परीक्षणको लागि अनुमति दिएको हो ।

प्राधिकरणले टेलिकमलाई फाइभजी परीक्षणका लागि २६०० मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको हो।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकमको निवेदनको आधारमा नेपाल टेलिकमलाई हाल परीक्षणको लागि अनुमति दिएको बताए।

“हामीले कात्तिक २९ गते बोर्डबाट टेलिकमलाई परिक्षण गर्न दिएका छौं,” उनले भने ।

टेलिकमलाई फाइभजी लगायत नयाँ प्रविधिको परीक्षण सम्बन्धी कार्यविधि, २०७८ बमोजिम हुने गरी फाइभजी परीक्षणको लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ।

फाइभजी परीक्षणका लागि टेलिकमले २५०० मेगाहर्जदेखि २५६० मेगाहर्जबीच कूल ६० मेगाहर्ज फ्रिक्वेन्सी प्राप्त गर्नेछ।

यस बाहेक हालको कुनै पनि प्रयोग गरेको फ्रिक्वेन्सीमा पनि परीक्षण गर्न सकिने उल्लेख बोर्डले निर्णय गरेको प्राधिकरणका निर्देशक अम्बर स्थापितले जानकारी दिए।

“टेलिकमलाई हाल प्रयोग गरिरहेको कुनैपनि फ्रिक्वेन्सीमा पनि परीक्षण गर्न सकिने गरी अनुमति दिएका छौं । त्यसमा कुनै निश्चित फ्रिक्वेन्सी तोकिएको छैन् । तर यसमा प्राधिकरणलाई जानकारी गराउनु पर्नेछ,” प्राधिकरणका निर्देशक स्थापितले भने।

यसअघि टेलिकमले फाइजभी परीक्षणका लागि सरकारसँग २६०० मेगाहर्ज ब्याण्डमा सय मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउन माग गरेको थियो।

हाल परीक्षणका लागि उपलब्ध गराएको फ्रिक्वेन्सी पछि प्राधिकरणलाई फिर्ता गर्नुपर्ने निर्णय समेत गरिएको छ।

प्राधिकरणले अनुमति दिएको पत्र आएको र त्यस बारेमा छलफल भईरहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

“पत्र आएको छ र २६०० मेगाहर्जमा मात्र परीक्षण अनुमति दिएको छ। कार्ययोजनाको बारेमा समेत उल्लेख छ,” उनले भने,”अब परीक्षणका लागि कम्तीमा ४ महिना लाग्नेछ।”

प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीकाअनुसार अनुमति पत्रको आधारमा आवश्यक उपकरणहरु मगाउन र त्यसमा प्राविधिक कार्य गर्नका लागि समय लाग्ने हुँदा करिब ४ महिना लाग्ने अनुमान गरिएको हो।

यसअघि गत जेठमा टेलिकमले आफ्नो कार्ययोजनासहित फाइभजी परीक्षण गर्नका लागि उपयुक्त देखिएका लोअर फ्रिक्वेन्सी ब्याण्ड र मिड फ्रिक्वेन्सी ब्याण्डको लागि अनुमति माग गरेको थियो। जसअनुसार कम्पनीले ७०० वा ८०० मेगाहर्ज ब्याण्ड तथा २६०० मेगाहर्ज ब्याण्डमा फाइभजी परीक्षण गर्न चाहेको बताएको थियो ।

टेलिकमले हाल परीक्षणको लागि शहरी र ग्रामीण क्षेत्रमा एकैपटक निश्चित शहरहरुमा ५जी सेवाको परीक्षण गर्न चाहेको उल्लेख गरेको छ।

टेलिकमले दूरसञ्चार प्राधिकरणको अनुमतिको आधारमा आगामी उपकरणहरु खरिद गर्ने उल्लेख गरेको हुँदा सोहीअनुसार कम्पनीले प्रकृया बढाउन जनाएको छ।

त्यसबेला टेलिकमले पुस भित्रै परीक्षण गर्ने गरी योजना गरेको थियो भने सरकारी लक्ष्य र नीतिअनुसार जाने बताएको थियो । तर प्राधिकरणले त्यसको लागि प्रकृयागत कार्यहरु गर्न समय लगाएपछि ढिलाई भएको हो।

प्रकाशित: ७ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...