
काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)का अधिकारीलाई निर्देशन दिएका छन् ।
सोमबार नास्टको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले यसका लागि बजेट अभाव तथा नीतिगत समस्या रहेमा समाधानका लागि आफू तयार रहेको बताए ।
आजको युग सुहाउँदो विकासमा अघिबढ्नका लागि शिक्षा, सिकाइ र शिक्षण प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा उनले जोड दिए।
नास्टको सहकुलपतिसमेत रहेका मन्त्री पौडेलले जनतालाई प्रविधिसँग जोड्ने दायित्व राज्यको भएकाले दूरदराजमा पनि प्रविधिको पहुँच पुर्याउनुपर्ने बताए । नेपालमा युवा वैज्ञानिकको उत्साह देखिएको बताउँदै उनीहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन नास्टलाई निर्देशन दिए।
मन्त्री पौडेलले भने, “आजको युग विज्ञान तथा प्रविधिको युगको हो। यसलाई देशका कुनाकन्दरामा रहेका जनताको पहुँचमा लैजानुपर्छ।”
नजिकैका दुई मित्रराष्ट्र चीन र भारतले प्रविधिमा फड्को मारेको उदाहरण दिँदै उनले नेपालले पनि उनीहरूको सिको गर्नुपर्ने बताए। उनले बजेट अभाव, कर्मचारी व्यवस्थापन, कर्मचारीको वृत्तिविकासका समस्यामा आफू जानकार रहेको बताउँदै समस्या हल गर्ने उपायसहित मन्त्रालयमा आउन निर्देशन दिए।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादवले विज्ञान र प्रविधिविना देश समृद्ध नहुने बताइन्। उनले नास्ट काठमाडौँमा मात्र केन्द्रित नभई ग्रामीण क्षेत्रमा पनि लैैजानुपर्नेमा जोड दिइन् ।
नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले सावटै प्रदेशमा नास्टको कार्यालय स्थापनाको तयारी गरिएकोे जानकारी दिए । उनले विज्ञान सिटीको अवधारणाअनुसार बजेटको व्यवस्था भए त्यसलाई कार्यान्वयमा लैजाने बताए। गोरखापत्रबाट
प्रकाशित: ७ मंसिर २०७८, मंगलवार