मोटोरोलाद्वारा स्न्यापड्रागन ८८८+ युक्त स्मार्टफोनको टिजर प्रदर्शन

  • Technology Khabar | २ मंसिर २०७८, बिहीबार

काठमाडौं ।

स्मार्टफोन ब्रान्ड मोटोरोलाले हालै आफ्नो स्न्यापड्रागन ८८८+ चिपसेटयुक्त नयाँ स्मार्टफोनको झलक प्रस्तुत गरेको छ।

भरपर्दा टिपस्टर डिजिटल च्याट स्टेशनले हालै मोटोरोलाले आउँदो महिना स्न्यापड्रागन ८८८+ चिपसेटयुक्त फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको तथ्य लीक गरेका हुन्।

स्न्यापड्रागन ८८८+ चिपसेट क्वालकमको नेक्स्ट जेनेरेशन चिप हो भने यसलाई आधिकारिक रुपमा स्न्यापड्रागन ८९८ वा स्न्यापड्रागन ८ जेन१ भनिने बुझिएको छ।

मोटोरोला आफैंले भने उक्त फ्ल्यागशिप फोनका बारेमा आधिकारिक रुपमा कुनै टिप्पणी गरेको छैन। कम्पनीको सर्बियामा रहेको शाखाले भने स्न्यापड्रागन ८८८+ चिपसेटयुक्त स्मार्टफोनको सानो टिजर पोस्ट गरेको थियो।

उक्त टिजर भिडियोमा स्मार्टफोनको पछाडिको क्यामरा र साइडको फ्रेमबाहेक यस डिभाइसका बारेमा खासै धेरै जानकारी दिइएको छैन। तर यसमा बोस्नियाका एक व्यक्तिले अनुवाद गरेको क्याप्शनमा भने यसो भनिएको छ, ‘सर्वाधिक तीव्र कार्यक्षमता र अद्वितीय गति छिट्टै आउँदैछ।’

यसअघि मोटोरोलाले स्न्यापड्रागन ८ जेन१ वा ८९८ चिपसेटयुक्त मोटोरोला मोटो एज एक्स चीनमा तथा एज ३० अल्ट्रा विश्व बजारमा ल्याउने हल्ला चलेको थियो।

यो लीकमा भने उक्त डिभाइसमा १२ जीबी डीडीआर५ र्याम तथा २५६ जीबी यूएफएस ३.१ आन्तरिक स्टोरेज रहने पनि बताइएको थियो।

यसबाहेक एन्ड्रोइड १२, ६.६७ इन्चको १४४ हर्ज रिफ्रेश रेटयुक्त फुल एचडी+ ओएलईडी स्क्रीनका साथमा आईपी ५२ रेटिङ र ६८ वाट फास्ट चार्जिङसहितको ५००० एमएएच क्षमताको ब्याट्री रहने बताइएको थियो।

पहिले हल्ला चलेको र हाल लीक भएको विवरण एउटै स्मार्टफोनका हुन् वा फरक हुन् भन्ने सार्वजनिक हुने बेला अथवा त्यसअघि कम्पनीले आधिकारिक विवरण दिएमा थाहा हुनेछ।

प्रकाशित: २ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया