
काठमाडौं ।
नेपालको सेक्यूरिटी प्रिन्टिङ प्रेस स्थापना गर्न जर्मनी सरकारले सहयोग गर्ने आश्वासन दिएको छ। जर्मनी राजदुत थोमस प्रिन्जले नेपालमा सेक्यूरिटी प्रिन्टिङ प्रेस स्थापनाका लागि सबै प्रकारको सहयोग गर्ने आश्वासन दिएका हुन् ।
उनले कात्तिक २९ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग भेट गरेर नेपालमा सेक्यूरिटी प्रिन्टिङ प्रेस स्थापनाका लागि जर्मनीको पूँजी र प्रविधिसँगै आवश्यक लगानी भित्र्याउन सहजीकरण गर्ने बताएका हुन्।
सो भेटमा सञ्चार मन्त्री कार्कीले समेत नेपाल सञ्चार तथा सूचना प्रविधि तर्फाको यात्रा उन्मुख रहेको बताउँदै देशको समृद्धिका लागि मित्रराष्ट्र जर्मनीको पूँजी, प्रविधि र सिप उपयोगी हुने बताएका थिए।
नेपालमा सेक्युरिटी प्रेस स्थापनाको कार्य शुरुवाती चरणदेखि नै बिवादास्पद रहँदै आएको छ।
तत्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस स्थापनाको लागि ७० करोड रुपैयाँ घूस मागेको अडियो सार्वजनिक भएपछि मन्त्री पदबाटै राजीनामा दिएका थिए।
गत २०७७ चैत २९ गते सुरक्षण मुद्रण केन्द्रले विवादित कम्पनी म्याक्स इन्टरनेसनललाई सेक्यूरिटी प्रेसको सिस्टम आपूर्तिका लागि ७३ करोड ८८ लाख ९८ हजार रुपैयाँको ठेक्का दिएको थियो।
प्रकाशित: १ मंसिर २०७८, बुधबार