
काठमाडौं ।
प्रविधि कम्पनी नोकियाले क्लाउडमा आधारित सफ्टवेयर सब्स्क्रिप्शन सेवा शुरु गर्ने घोषणा गरेको छ।
कम्पनीले आज बुधबार उक्त घोषणा गर्दै यसको मुख्य लक्ष्य दूरसञ्चार कम्पनीहरु रहेको र उनीहरुलाई विश्लेषण सुरक्षा तथा डाटा व्यवस्थापनसम्बन्धी सफ्टवेयर सोलुशनहरु उपलब्ध गराइने उल्लेख गरेको छ।
पछिल्लो समय थुप्रै प्रविधि कम्पनीहरु व्यवसायलाई भरपर्दो र दोहोरिइरहने निश्चितताका लागि लाइसेन्सिङबाट सब्सक्रिप्शन मोडलतर्फ गइरहेका छन्।
नोकियाका केही सफ्टवेयर पोर्टफोलियो यसै वर्षदेखि सब्सक्रिप्शन मोडलमा जाने अन्य सेवाहरु सन् २०२२ को शुरुवातमा व्यावसायिक रुपमा उपलब्ध हुने बताइएको छ।
कम्पनीका वरिष्ठ उपाध्यक्ष मार्क बनले नोकियाले सन् २०१६ मा आफ्नो सफ्टवेयर विभाग निर्माण गरेदेखि नै एकदिन सब्सक्रिप्शन मोडलमा जाने भन्ने योजनामा राखे पनि हालसम्म कार्यान्वयनमा नगएको बताए।
‘हामीले उक्त योजना अब कार्यान्वयन गरेका छाैं, हामीले ठूलो परिमाणमा सेवा वितरण तथा सञ्चालन गर्नसक्ने भरपर्दो प्रविधि निर्माण गरेका छाैं’, उनले भने।
क्लाउडमा आधारित सफ्टवेयर प्लेटफर्मले खर्च घटाउने, परिचालन र व्यवस्थापन सहज बनाउने तथा उपभोक्ताले दीर्घकालीन सेवा लिने कि नलिने भनेर निर्क्योल गर्न उक्त प्लेटफर्म परीक्षण गरेर हेर्न पनि सक्ने कम्पनीको भनाइ छ।
सम्भाव्य उपभोक्ताहरुसँग छलफलमा रहेको नोकियाले सन् २०२१ देखि २०२५ सम्मको अवधिमा वार्षिक २५ देखि ३० प्रतिशतको वृद्धिसहित ३ अर्ब १० करोड डलरको बजारको लक्ष्य राखेको जनाएको छ।
प्रकाशित: १ मंसिर २०७८, बुधबार