आजदेखि इ-पासपोर्ट लागू, इ-पासपोर्ट बनाउनु अगाडी राष्ट्रिय परिचयपत्रको आवेदन अनिवार्य

  • Technology Khabar | १ मंसिर २०७८, बुधबार
आजदेखि इ-पासपोर्ट लागू, इ-पासपोर्ट बनाउनु अगाडी राष्ट्रिय परिचयपत्रको आवेदन अनिवार्य

काठमाडौं ।

सरकारले आजदेखि विद्युतीय पासपोर्ट अर्थात इ-पासपोर्ट लागू गरेको छ। आज आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्काले पहिलो इ पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरे।

परराष्ट्रमन्त्री खड्काले अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई उँचो बनाउन पनि यसले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

विभागका महानिर्देशक डोरनाथ अर्यालले इ–पासपोर्ट जारी भएसँगै पहिलेको भन्दा अब नेपालको राहदानी विश्वासयोग्य हुने बताए । विभागले केही समयपछि प्रतिघण्टा एक हजार प्रति इ-पासपोर्ट निकाल्न सक्ने क्षमता रहेको जानकारी दिए।

उनले कार्यक्रममा इ-पासपोर्टको विशेषताहरुको बारेमा जानकारी दिएका थिए।

विभागले हाल सिमित मात्रामा ई-पासपोर्ट जारी गर्ने जानकारी दिएको छ भने ३ सातापछि राहदानी विभागबाट र डिसेम्बरपछि जिल्ला प्रशासन कार्यालयहरुबाट समेत जारी गरिने जानकारी दिएको छ।

नयाँ इ-पासपोर्टको पेजहरु पोलिकार्बोनेट रहेको र यसमा चिपमा बायोग्राफिकल डाटाहरु राखिएका छन् । चिपमा औंठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरण राखिन्छन्।

विभागले सात किसिमका इ–पासपोर्ट जारी गर्ने तयारी गरेको छ । यसअघि कूटनीतिक, विशेष, अस्थायी, सिम्यान्स अभिलेख किताब (सिम्यास रेकर्ड बुक), साधारणअन्तर्गत ३४ र ६६ पृष्ठको गरी ६ किसिमका जारी गर्दै आएकोमा अबदेखि सर्भिस पासपोर्ट थप गरिएको विभागले जनाएको छ।

ई-पासपोर्टलाई राष्ट्रिय परिचयपत्रसँग अन्तरआबद्धता गरिएको हुँदा अनलाइन फाराम भर्दा पहिले राष्ट्रिय परिचयपत्रको आवेदन दिनका लागि अनुरोध गरेको छ।

प्रकाशित: १ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...