अर्थमन्त्री र अर्थसचिवद्धारा नेपालको पहिलो इलेक्ट्रिक बाइक ‘यात्री’ को टेस्ट राइड

  • Technology Khabar | १ मंसिर २०७८, बुधबार
अर्थमन्त्री र अर्थसचिवद्धारा नेपालको पहिलो इलेक्ट्रिक बाइक ‘यात्री’ को टेस्ट राइड

काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव मधु मरासिनीले नेपाली युवा इन्जिनियरहरुको टोलीले बनाएको पहिलो नेपाली विद्युतीय मोटरसाइकल(इलेक्ट्रिक बाइक ) ‘यात्री’ को मंगलबार टेस्ट राइड गरेका छन्।

उनीहरूले अर्थ मन्त्रालय परिसरमै केही समय मोटरसाइकल हाँकेर त्यसको अनुभव लिएका हुन्।

अर्थसचिव मरासिनीले मंगलबार राति आफ्नो ट्वीटरमा सो टेस्ट राइडको बारेमा ट्वीटमा लेखेका छन्, ‘नेपालमा बनेको विद्युतीय मोटरसाइकल यात्रीको गज्जबको टेस्ट राइड गरियो। यस्तो वातावरणमैत्री सिर्जनाका लागि अशिम पाण्डे र उनको टिमलाई बधाई। यसका लागि अहिलेभन्दा उपयुक्त समय अर्को हुनै सक्दैनथ्यो, किनभने अहिले हाम्रो देश हरित विकासमा प्रतिबद्ध छ। हामी यस्ता घरेलु उद्यमलाई प्रबर्द्धन गर्नेछौं।”

अर्थसचिवले सो टेस्ट राइड गरेको अनुभवसहितको ट्वीटमा अर्थमन्त्री शर्मासहित अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय वातावरण सम्मेनलन (कोप२६) को ट्वीटर ह्यान्डललाई समेत मेन्सन गरेका छन्। उनले टेस्ट राइड गर्ने क्रममा खिचिएका चारवटा तस्बिर सेयर पनि गरेका छन्।

सो टेस्ट राइडमा अर्थ सचिवले यात्री बाइक कुदाएर नै अनुभव लिएका थिए।

नेपाली युवा इन्जिनियरको टिमले नेपालमा डिजाइन र उत्पादन गरेको यी दुई मोटरसाइकल मध्ये पी-० कम्पनीले केहि वर्षअघि नै प्रोटोटाइप सार्वजनिक गरेको थियो। यसको ५० यूनिट उत्पादन गर्नेगरि कम्पनीले बुकिङ लिएको थियो।

यात्री माेटरसाइकल सहरी क्षेत्रका कामकाजीहरूलाई लक्षित गरेर निर्माण गरिएकाे विद्युतीय सवारी हाे। कम्पनीले सुरुवाती समयमा पी जेरो र पी वान गरी दुई वटा मोडेल बजारमा ल्याएको छ।

कम्पनीको प्रिमियम बाइक पी जेरोको मूल्य १९ लाख ४९ हजार रुपैयाँ राखिएको छ । यस्तै पी वानको मूल्य ४ लाख ९५ हजार रुपैयाँ छ । कम्पनीले अहिले अर्डर गरेकाे माेटरबाइक ४ महिनामा उपलब्ध गराइने जनाएको छ ।

यात्री पी जेरो मोडेलको मोटरबाइक एक पटकको चार्जमा २३० किलोमिटर गुड्नसक्ने कम्पनीले जनाएको छ । सुरुवाती २.५ सेकेन्डमै ६० किलोमिटर प्रति घण्टाको गति पकड्न सक्ने यो बाइक अधिकतम १४० किलोमिटर प्रतिघण्टा गुड्न सक्ने कम्पनीकाे दाबी छ । यसको तौल १९५ केजी छ । त्यस्तै यात्री पी वान मोटरसाइकल एक पटक चार्ज गर्दा १२० किलोमिटरसम्म गुड्न सक्छ ।

‘पी-०’ को बजार मूल्य १९ लाख ४९ हजार रुपैयाँ तोकेको छ भने पी-१को मूल्य ४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

चार जना इन्जिनियरसहित सात जनाको टोलीले ‘यात्री’ डिजाइन स्टुडियो स्थापना गरेर यो विद्युतीय मोटरसाइकल निर्माण गरेको थियो।

नेपालमा डिजाइन र एसेम्बल गरिएको यात्री बाइकको लागि विभिन्न देशहरुबाट उपकरणहरु मगाईएर जडान गरिएको छ।

प्रकाशित: १ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...