कोरोना खोपको तथ्याङ्क अनलाइनमा

  • Technology Khabar | २९ कार्तिक २०७८, सोमबार
कोरोना खोपको तथ्याङ्क अनलाइनमा

काठमाडौं ।

दैलेखको गुराँस गाउँपालिकामा १८ वर्षमाथिका बासिन्दाले कोरोना विरुद्धको खोप लगाए नलगाएको विवरण सङ्कलन गरी विद्युतीय तथ्याङ्क अनलाइनमा राख्न सुरु गरिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गुराँस गाउँपालिकाको समन्वय र सेवक दैलेखद्वारा सञ्चालित भ्याक्सिने सन डिजिटलाइजेसन परियोजनाबाट खोप लगाएका र नलगाएका नागरिकको तथ्याङ्क सङ्कलन गरी विवरण राख्न सुरु गरिएको हो ।

गाउँपालिका अध्यक्ष खेमराज ओलीले कोभिड–१९ विरुद्ध खोपको तथ्याङ्क राख्ने कामलाई व्यवस्थित बनाउन सबै वडामा गणक पठाइएको जानकारी दिए । उनले कोरोना खोपको तथ्याङ्क अनलाइन प्रणालीमा राख्ने र त्यसबाट आफ्नो गाउँपालिकामा कति जनाले खोप प्राप्त गरे र कति बाँकी छन् भन्ने जानकारी दिन सहज हुने बताए ।

सेवक दैलेखका अध्यक्ष महारूप खत्रीले खोप कार्यक्रमबाट कोभिड–१९ सङ्क्रमणविरुद्ध लगाइने खोपको तथ्याङ्क तथा रिपोर्टिङलाई पूर्ण रूपमा विद्युतीय प्रणालीमा लैजानका लागि परियोजना सञ्चालन गरिएको उल्लेख गरे ।

कोभिड–१९ विरुद्धको खोप लगाउन चाहने १८ वर्षभन्दा माथि उमेर समूहका, खोप लगाउनबाट वञ्चित र यसअघि एक डोज लगाएका जनताको अनिवार्य रूपमा अनलाइन दर्ता गर्नुपर्ने अध्यक्ष खत्रीले बताए। उनले नेपालमा रहेका गाउँपालिकामध्ये दैलेखको गुराँस गाउँपालिकामा मात्र नमुनाका रूपमा यो कार्यक्रम थालिएको उल्लेख गरे ।

गुराँस गाउँपालिकामा २५ हजारजनसङ्ख्या रहेको अनुमान गरिए पनि अहिले सम्म सात हजार सात सयले मात्र कोरोनाविरुद्धको खोप लगाएको तथ्याङ्क छ ।

गुराँस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले गाउँपालिकामा सञ्चालित खोप परियोजनाले खोप लगाएका र लगाउन बाँकी रहेका समूहको यकिन तथ्याङ्क सङ्कलन गर्ने र नलगाएकालाई नागरिकलाई खोप दिन सहज हुने बताए।

खोप लगाउन कोभिडविरुद्धको प्री–अनलाइन फाराम भरेपछि लाभग्राहीले एउटा युनिक कोड नम्बर पाउने जनाइएको छ। विदेशी मुलुकमा रोजगारी र अन्य काममा जाने मानिससँग खोप लगाएको प्रमाणपत्र माग्न थालेपछि खोपको अनलाइन रेकर्डले अध्यागमनमा सहज हुने अपेक्षा गरिएको छ। गोरखापत्र

प्रकाशित: २९ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार