
काठमाडौं ।
अमेरिकी गाडी निर्माता जीएमले हमर ईभीमा आधारित मिलिटरी गाडी बनाउने भएको छ।
हमर एच१ मिलिटरी ट्रकमा आधारित थियो भने जीएमले यही कुरालाई पुनरावृत्ति गर्न लागेको बुझिएको छ।
जीएमका डिफेन्स प्रेजिडेन्ट स्टिभ ड्युमन्टले सीएनबीसीलाई बताए अनुसार कम्पनीले आउँदै गरेको हमर ईभीमा आधारित भएर मिलिटरी गाडी बनाउन लागेको हो।
ईआरएलभी अर्थात् इलेक्ट्रिक रिकनेसाँ भेहिकलका रुपमा आउने उक्त गाडी हमरको फ्रेम, मोटर तथा अल्टियम ब्याट्रीलाई अमेरिकी सैनिकहरुको लागि आवश्यक हुने गरी मोडिफाइ गरेर बनाइनेछ।
यसको प्रोटोटाइप आगामी सन् २०२२ भित्र तयार भइसक्नुपर्ने भए पनि अमेरिकी सैन्य संस्थाले यो प्रविधिको सवारी प्रयोग गर्ने/नगर्ने भन्ने चाहीँ सुनिश्चित छैन।
सेनाले यस प्रकारको विद्युतीग गाडीको सम्भाव्यता अध्ययन गरिरहेको र जनरल मोटर्सले यसमा खरो उत्रनका लागि औपचारिक आवश्यकता पूरा गर्नुपर्ने हुन्छ।
सेनाले ईभी चलाउँदा आउने मुख्य समस्या भनेको युद्धक्षेत्र तथा दुर्गम स्थानमा चार्जिङ स्टेशन नभेट्नु हो।
जीएमले यस्ता ठाउँमा कम्बुशनमा आधारित चार्जिङ प्रणाली उपलब्ध गराउने ड्युमन्टले बताएका छन्। ईभीले दिने माइलेजका लागि आवश्यक तापक्रम थप्ने तथा सजिलोका लागि ब्याट्री स्वाप गर्ने प्रणाली पनि राखिने उनको भनाइ छ।
प्रकाशित: २८ कार्तिक २०७८, आईतवार