
काठमाडौं ।
गोरखा आरुघाट–१ मान्बु कटुञ्जेकी विष्णुमाया गुरुङ (क) ७० वर्षको भईन् हाल गोरखा सदरमुकाममा बस्दै आएकी उनी बालमन्दिर माध्यमिक विद्यालयको कक्षा १ मा पढ्न थालेकी छिन् ।
‘पैसा चिन्दिन, मोबाइलमा पैसा हाल्न जान्दिन, मोबाइल चलाउन पनि आउँदैन,’ उनले भनिन्, ‘अक्षरसमेत केही चिन्दिन त्यसो भएर पढ्न आएको।’
दुई छोरा, १० नातिनातिना र पाँच पनाति–पनातिनीकी हजुरआमासमेत भइसकेकी उनलाई धेरै पढ्ने इच्छा त छैन्। अक्षर चिनेर मोबाइल चलाउन र राम्रोसँग पढ्न, लेख्न सके पुग्ने उनले बताईन।
‘एक पटक गोरखा जाने गाडी भनेर चढेको नारायणघाट जाने रै’छ, पछि पुलिसले अर्कोमा चढाइदियो,’ उनीहरुले भने, ‘पढ्न, लेख्न नजान्दा धेरै दुःख हुने रै’छ, त्यसैले केही सिकिन्छ की भनेर स्कुल आएको।’
उनीसँगै ४५ वर्षकी विष्णुमाया गुरुङ (ख) पनि पढ्न आएकी छन् । मङ्गलबार कक्षा १ को अन्तिम बेच्नमा बसेर उनीहरु साना बालबालिकाहरूसँग पढिरहेका थिए।
‘मोबाइलमा म्यासेज आयो भने पनि हेर्न नजान्ने अर्कालाई हेर्दै भन्नुपर्ने,’ उनले भनिन्, ‘फेरि भिडियोबाहेक अरू केही हेर्न जानिएन, जानेको भए, फेसबुकमा आएको समाचार पनि पढ्न पाइन्थ्यो।’
उनको पनातिसमेत स्कुल पढ्ने भइसकेका छन्। स्कुलमा पढेको कुरा घरमा छोरा नातिसँग सिकेर भए पनि राम्रोसँग लेखपढ गर्ने उनले बताईन् । ‘अहिलेसम्म यति नै पढ्छु भन्ने कुनै निधो छैन,’ उनले भनिन्, ‘पहिले अक्षर चिनम् अनि के हुन्छ पछि नै थाहा होला।’
गाउँमा जन्मिएका उनीहरूले उमेरमा पढ्न नपाएको गुनासो गरे। अहिले पढाइको महत्व बुझेपछि बुढेसकालमा भए पनि विद्यालय आउन मन लागेको उनीहरूको भनाइ छ। उनीहरुलाई साना विद्यार्थीले पढ्न सहयोग गरेका छन्।
अहिले शैक्षिक सत्रको बीचमा विद्यालय आएका उनीहरूलाई भर्ना दिने कि नदिने भन्नेबारेमा विद्यालयले निर्णय गरिसकेको छैन तर पनि उनीहरूको सिक्ने चाहनालाई मर्न नदिने विद्यालयका प्रधानाध्यापक शिव थापाले बताए।
पाँच/सात वर्षका कलिला बालबालिका र पाका उमेरका हजुरआमाहरूलाई सँगै राखेर पढाउनुपर्दा केही कठिनाई भए पनि थोरै विद्यार्थी रहेकाले व्यवस्थापन गर्न सकिने उनको भनाइ छ ।
‘अहिले कक्षा १ मा २५ जना मात्र विद्यार्थी छन्, अब उहाँहरू थपिनुभयो,’ प्रअ थापाले भने, ‘उहाँहरूको सिकाइ एक नासको नहुन सक्छ तर हामी मिलाएर पढाउँछौँ।’
झन्डै १० वर्षअघि पनि उक्त विद्यालयमा यसैगरी आमाहरूले पढेको विद्यालयका शिक्षक शिव उप्रेतीले बताए।
अहिले उक्त विद्यालयमा तीन सय विद्यार्थी अध्ययनरत छन्। सुरुमा नेपाल बाल सङ्गठनले सञ्चालन गरको बालमन्दिर माविमा अहिले अनाथ बालबालिकाहरू समेत आवासीय रूपमा पढ्दै आइरहेका छन्। गोरखापत्र
प्रकाशित: २४ कार्तिक २०७८, बुधबार