
काठमाडौं ।
नेकपा (एमाले) ले आशन्न १०औँ राष्ट्रिय महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदानका लागि पार्टीका नेता–कार्यकर्तालाई नमूना मतदान अभ्यास गराउन थालेको छ । एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा पार्टीका नेता तथा कार्यकर्तालाई विद्युतीय मेसिनबाट मतदान गर्न सिकाउनका लागि आजदेखि नमूना मतदानको व्यवस्था गरिएको हो । राम–लक्ष्मण भोटिङ मेसिनबाट एमालेले आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा विद्युतीय मतदानको प्रयोग गर्ने निर्णय गरिसकेको छ ।
“आजदेखि हामीले पार्टी मुख्यालयमा विद्युतीय मेसिनबाट कसरी मतदान गर्ने भनेर नमूना मतदान गरिरहेका छौं”, राम–लक्ष्मण इनोभेसेनका निर्देशक लक्ष्मण रिमालले भने, “पार्टीका नेताले पार्टी कार्यालयमा आएर विद्युतीय मतदान गरिरहनुभएको छ ।”
उनका अनुसार आजदेखि महाधिवेशनमा मतदान हुनुभन्दा अगाडिसम्म महाधिवेशनका प्रतिनिधिलाई विद्युतीय मेसिनमा मतदान गर्न सिकाइने छ ।
अहिले पार्टी कार्यालयमा दुई वटा मेसिनबाट नमूना मतदान गरिरहेको महाधिवेशनस्थलमा भने तीन वटा मेसिनबाट नमूना मतदान गराइने उनले जानकारी दिए। एमालेको नवौँ राष्ट्रिय महाविधेशनमा विद्युतीय मेसिन प्रयोग गरेर मतदान गर्ने भने तापनि आन्तरिक विवादका कारण अन्तिम समयमा आएर प्रयोग गरिएको थिएन । यसपटक एमाले महाधिवेशन निर्वाचनका लागि विद्युतीय मेसिन प्रयोग गर्ने भनेर राम–लक्ष्मण इनोभेसेनसँग सम्झौता समेत गरिसकेको छ ।
निर्देशक रिमालले सबै प्रतिनिधिलाई एक पटक विद्युतीय मेसिनमा नमूना मतदान गराइने बताए ।
विद्युतीय मतदानका लागि राम–लक्ष्मण इनोभेसेनले १०० वटा विद्युतीय मेसिन राख्ने तयारी गरेको छ । एक मेसिनमा दुई जनाले मतदान गर्ने व्यवस्था मिलाइने छ। एमालेको महाधिवेशनमा २२५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५/१५ जना गरी कुल २५५ पदका लागि निर्वाचन हुनेछ ।
निर्देशक रिमालले एक जना प्रतिनिधिलाई आधा घण्टामा मतदान सक्ने गरी व्यवस्था गरिएको बताए ।
“जम्मा ४८ थरिका पदका लागि करिव ५०० जना उम्मेदवार हुने हाम्रो अनुमान छ”, उनले भने, “सोही अनुसार ती पदमा मतदान गर्नका लागि एक जनाप्रनिनिधिलाई आधा घण्टा लाग्ने हाम्रो आँकलन छ।”
निर्वाचनमा समावेशीसहित ४८ स्थानका लागि ४८ वटा मतपत्रका स्क्रिन ती मेसिनमा रहने छन् । उनले निर्वाचन सकेको तीनदेखि चार घण्टाभित्र नतिजा सार्वजनिक गर्ने जानकारी दिए। एमालेको महाधिवेशनमा एक हजार ९९९ जना नबढ्ने गरी प्रतिनिधि चयन गरिने छ ।
एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टीको महाधिवेशनलाई प्रविधिमैत्री बनाउनुपर्छ भन्ने हिसाबले उक्त मेसिन प्रयोग गर्न लागिएको जानकारी दिँदै मुलुकको ठूलो राजनीतिक दलको महाधिवेशनमा प्रयोग भएपछि अरु दललाई प्रेरणा मिल्न सक्ने जनाए । नवौँ महाधिवेशनमा मेसिन प्रयोग नभएका कारण असार २२ गते मतदान सकिएको भए पनि गणना सम्पन्न गर्दा साउन १ गतेसम्म लगेकाले त्यसको तुलनामा मेसिनको प्रयोगले समय र खर्चको बचत गराउन सक्ने जनाए ।
प्रकाशित: २३ कार्तिक २०७८, मंगलवार