
काठमाडौं ।
अमेरिकाको न्याय विभागले गत जुलाइमा आईटी कम्पनी कासेयामाथि भएको र्यान्समवेयर हमलामा एक युक्रेनी नागरिकमाथि आरोप सार्वजनिक गरेको छ।
पोल्यान्डका अधिकारीहरुले यारोस्लाभ वासिन्स्की नामका ती व्यक्तिलाई अघिल्लो महिना पक्राउ गरेका थिए भने अमेरिका सुपुर्दगीका लागि आवश्यक प्रक्रिया चलिरहेको छ।
उनीमाथि ठगी गर्नका कम्प्युटरसँग सम्बन्धित षडयन्त्र गरेको तथा सुरक्षित कम्प्युटरहरुमाथि पटकपटक हमला गरेको र सम्पत्ति शुद्धिकरणका लागि षडयन्त्र गरेको आरोप छ।
यी सबै आरोपहरु प्रमाणित भएको खण्डमा वासिनास्कीले ११५ वर्षसम्मको जेल सजाय भोग्नुपर्ने हुन्छ।
उजुरीका अनुसार उनले र्यान्समवेयर फैलाउनका लागि कासेयाको एउटा उत्पादनको दुरुपयोग गरेका थिए। यसबाट विश्वभरका १५ सयजति व्यवसाय तथा संगठन प्रभावित भएका थिए।
उनी आबद्ध र्यान्समवेयर समूहले पहिले प्रभावितहरुको सिस्टम अनलक गर्का लागि ७ करोड डलर फिराैती मागेका थिए।
उक्त हमलाको तीन हप्तापछि कासेयाले यसलाई डिक्रिप्ट गर्ने प्रणाली बनाएर प्रभावित उपभोक्ताहरुलाई उपलब्ध गराएको थियो।
यसैबीच अमेरिका, युरोपोल र रोमानियाका सुरक्षा अधिकारीहरुले रेभिल ग्रुपकै थप ह्याकरहरुलाई पक्राउ गरेका छन् । उनिहरुले संयुक्तरुपमा गरेको अनलाइन तथा अफलाइन कारबाहीको क्रममा दुई ह्याकरलाई रोमानियामा र एक युक्रेनी ह्याकरहरुलाई पक्राउ गरेका थिए ।
उनीहरुले र्यान्समवेयर पठाएर फिरौतीको रुपमा क्रिप्टोकरेन्सीमा रकम लिने गरेका थिए । रेभिल ग्रुपले अमेरिकाको जेबीएल मिट प्रोसेसिङ्ग कम्पनीमा पहिले आक्रमण गरेका थिए। एजेन्सीहरुका साथ
प्रकाशित: २३ कार्तिक २०७८, मंगलवार