
काठमाडौं ।
अमेरिकी सरकारले डार्कसाइड भनेर चिनिने ह्याकिङ समूहको बारेमा जानकारी दिनेलाई १ करोड डलरसम्मको इनामको प्रस्ताव गरेको छ।
गत मे महिनामा, डार्कसाइड र्यान्समवेयर आक्रमणले अमेरिकाको पूर्वी तटमा एक महत्वपूर्ण ५,५०० माइल लामो ईन्धन पाइपलाइन बन्द भएको थियो। सो पाइपलाइनले पूर्वी तटमा प्रयोग हुने इन्धनको ४५ प्रतिशत ओसारपसार गर्छ।
डार्कसाइडको नेतृत्वमा भएको “कुनै पनि व्यक्तिको पहिचान वा स्थान” को बारेमा जानकारी दिनका लागि सो बाउन्टीले अफर गर्ने बीबीसीले रिपोर्टमा उल्लेख गरेको छ।
डार्कसाइड र्यान्समवेयर आक्रमणमा “सहभागी हुने षड्यन्त्र” गर्ने कसैलाई पक्राउ गर्ने जानकारीको लागि छुट्टै ५० लाख डलरको पुरस्कार प्रस्ताव गरिएको छ।
साइबर हमलाका कारण कोलोनियल पाइपलाइन कम्पनीले केही दिनसम्म आफ्नो सञ्चालन बन्द गरेपछि अमेरिकामा इन्धन अभाव भएको थियो। यसले अन्ततः बिटक्वाइनमा ४४ लाख डलर फिरौती तिरेको थियो।
क्रिप्टोकरेन्सी विश्लेषण कम्पनी इलिप्टिकको अनुमानअनुसार डार्कसाइडले ४७ पीडितहरूबाट कम्तिमा ९ करोड डलर फिरौती भुक्तानी प्राप्त गरेको थियो।
यद्यपि, अमेरिकी अधिकारीहरूले पछि कोलोनियल पाइपलाइनले तिरेको फिरौतीको अधिकांश भाग अर्थात करिब ६३.७ बिटक्वाइन बरामद भएको बताएका थिए।
कुनैपनि निश्चित साइबर अपराधीहरुका लागि तोकिएको बाउन्टी रकममध्ये यो अहिलेसम्मकै सबैभन्दा ठूलो रकम हो।
प्रकाशित: २१ कार्तिक २०७८, आईतवार