
काठमाडौं ।
एप्पल इन्डियाले भारतमा हालसम्मकै सबैभन्दा बढी आम्दानी गरेको प्रतिवेदन सार्वजनिक गरेको छ।
भारतको कम्पनी रजिस्ट्रारका अनुसार एप्पल इन्डियाको आम्दानी आर्थिक वर्ष २०२१ मा ६८ प्रतिशतले बढेर ३ अर्ब डलर पुगेको छ।
यो आँकडा एप्पलको विश्वभरको आम्दानीको १ प्रतिशत रहेको इकोनोमिक टाइम्सले जनाएको छ।
एप्पलका सीईओ टिम कूकले यसअघि एप्पल मुख्यालयको इभेन्टमा भारत शाखाले आम्दानीमा शत प्रतिशत वृद्धि गरेको बताएका थिए।
अल्टइन्फोका संस्थापक मोहित यादवले इकोनोमिक टाइम्सलाई उद्धृत गर्दै यो एप्पल इन्डियाको हालसम्मकै आम्दानीमा सर्वाधिक वृद्धिको आँकडा भएको बताएका छन्।
एप्पल इन्डियाको आम्दानी अन्य इलेक्ट्रोनिक्स भेन्डर तथा स्मार्टफोन निर्माताहरुको तुलनामा पनि सबैभन्दा धेरै देखिएको छ। भारतमा ३ महिना लामो लकडाउनले व्यवसायलाई बिथोल्दा पनि कम्पनीले यो परिमाणमा आम्दानी वृद्धि गर्न सकेको हो।
काउन्टरप्वाइन्ट रिसर्चको पछिल्लो शिपमेन्ट रिपोर्ट अनुसार भारतमा तेस्रो त्रैमासमा आईफोनको शिपमेन्ट बढेर वार्षिक रुपमा २१२ प्रतिशत पुगेको थियो।
आईडीसीका अनुसार एप्पल इन्डिया २०२१ अप्रिलमा शुरु भएको आर्थिक वर्ष २०२२को शुरुवातमा एप्पल इन्डियाले अझ द्रुत गतिमा आफ्नो व्यवसाय वृद्धि गरेको थियो। तर यसको यकित तथ्याङ्क भने एप्पल मुख्यालय वा भारत कसैले पनि जारी गरेका छैनन्।
यो वर्षको जुलाइदेखि सेप्टेम्बरको बीचमा भारतमा आईफोनको कीर्तिमानी बिक्री भएको रिपोर्टमा उल्लेख छ। यसपाला भएको बिक्रीले यसअघिको १३ लाख थान लाइ उछिनेको छ।
प्रकाशित: २१ कार्तिक २०७८, आईतवार