
काठमाडौं ।
नेटफ्लिक्सले बुधबारबाट सबै एन्ड्रोइड यूजरहरुलाई मोबाइल गेम उपलब्ध गराउन शुरु गरेको छ।
अबदेखि प्रत्येक यूजरले आफ्ना एन्ड्रोइड स्मार्टफोन वा ट्याब्लेटमा गुगल प्लेबाट डाउनलोड गरेर निशुल्क रुपमा पाँच ओटा गेम खेल्न सक्नेछन्।
यी गेमहरु आज अर्थात् नोभेम्बर ३ देखि नेटफ्लिक्स एपमार्फत् उपलब्ध हुने कम्पनीले जनाएको छ। आईओएस यूजरले भने पछिमात्र यी गेमहरु प्राप्त गर्नेछन्।
गत अगस्टमा कम्पनीले आफ्नो एन्ड्रोइड एपमा स्ट्रेन्जर थिङ्स १९८४ तथा स्ट्रेन्जर थिङ्स ३ गेम पोल्यान्डमा परीक्षण गर्न शुरु गरेको थियो।
यो परीक्षण अर्को महिना शूटिङ हूप्स, टीटर अप तथा कार्ड ब्लास्टजस्ता अन्य क्याजुअल गेमसहित स्पेन र इटलीमा पनि विस्तार भएको थियो। तर यीमध्ये कुनै पनि गेम नेटफ्लिक्सका शो तथा चलचित्रसँग सम्बन्धित थिएनन्।
निशुल्क खेल्न पाइने यी गेमहरुमा कुनै विज्ञापन वा इन-एप पर्चेज सेवा समावेश छैन।
यी गेम प्राप्त गर्नका लागि नेटफ्लिक्स एपको होमपेजमा रहेको गेम सेक्शनमा गएर आफ्ना फोन वा ट्याब्लेटमा एक्सेस गर्न सकिन्छ।
एकपटक गेम सेलेक्ट गरेपछि यसलाई नेटफ्लिक्स एपमार्फत् गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ।
प्रकाशित: १७ कार्तिक २०७८, बुधबार