
काठमाडौं ।
निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र नवीकरण गरिएको छ।
एनसेलले २०७३ पुस ८ गते लिएको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र थप ५ वर्षका लागि नेपाल दूरसञ्चार प्राधिकरणले नवीकरण गरिएको हो।
दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणको बोर्ड बैठकले कम्पनीको नेटवर्क सेवा प्रदायकको अनुमति पत्र नवीकरणका लागि नियमानुसार लाग्ने दस्तुर बुझाएको हुँदा र समयमा नै निवेदन दिएकोमा दूरसञ्चार ऐन अनुसार नवीकरण गर्ने निर्णय गरेको हो। सो अनुमति पत्र अब २०७८ पुस ८ गतेदेखि लागू हुने गरी ५ वर्षसम्मका लागि नवीकरण गर्ने निर्णय गरिएको हो।
अनुमतिपत्र नवीकरणका लागि सेवा प्रदायकहरुले अवधि सकिनुभन्दा ३ महिना अगाडी नै प्राधिकरणमा निवेदन दिनुपर्ने प्रावधान छ। त्यस्तो निवेदनमा प्राधिकरणले निर्णय गर्न सक्ने अधिकार ऐनले दिएको छ।
अनुमति लिएका नेटवर्क सेवा प्रदायकहरुले इन्टरनेट सेवा प्रदायक तथा सेवाग्राही अन्य कम्पनीहरुलाई आफ्नो नेटवर्क उपलब्ध गराउन तथा सेवा प्रदान गर्न सक्ने कानूनी व्यवस्था रहेको छ।
प्रकाशित: १६ कार्तिक २०७८, मंगलवार