
काठमाडौं ।
मुस्लिम समुदायद्वारा सउदी अरबको मक्का मदिनामा हरेक वर्ष गरिने अनिवार्य धार्मिक कार्य हज व्यवस्थापनका सम्पूर्ण प्रक्रियाहरुलाई विद्युतीय प्रणाली मार्फत गरिने भएको छ । त्यसका लागि केन्द्रिय नेपाल हज समितिले तयार गरेको ‘हज व्यवस्थापन सूचना प्रणाली’का बारेमा अहिले देशका विभिन्न जिल्लामा पुगेर सम्बन्धितलाई जानकारी गराउने कार्य गरिरहेको छ ।
सोही क्रममा गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको सचिवालयले आइतवार नेपालगञ्जमा एक दिने क्षमता विकास कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर, दांग र सल्यान जिल्लाका जिल्ला प्रशासन कार्यालय तथा ईलाका प्रशासन कार्यालयका फोकल पर्सन र कम्प्युटर अपरेटरको सहभागिता रहेको थियो ।
हजयात्रीको यात्रा व्यवस्थापनका सम्पूर्ण प्रक्रिया र कार्यलाई पूर्णत विद्युतीय प्रणाली मार्फत गर्न तयार पारिएको ‘हज व्यवस्थापन सूचना प्रणाली’ का बारेमा कार्यक्रममा सहभागिहरुलाई प्रयोगात्मक जानकारी गराईएको नेपाल हज समितिका केन्द्रिय अध्यक्ष हाजी शमसेर मियाँले बताए।
उनले अबदेखि हज गर्न इच्छुक कुनै पनि नेपाली मुस्लिमले अनलाइन मार्फत आवेदन दिनसक्ने र छनौटमा परेको जानकारी पनि अनलाइनमार्फत नै पाउन सकिने बताए।
कार्यक्रमका सहभागिहरुलाई हज समितिका अध्यक्ष मियाँ तथा नेपाल हज समितिको सचिवालयका सदस्य सचिव कृष्ण पौडेल लगायतले जानकारी गराएका थिए ।
सो अवसरमा नेपाल हज समितिका केन्द्रिय सदस्यहरु मोहम्मद फाजिल, कल्पना मियाँ, बद्रुदुजा खाँ, मेराज अहमद र फजिर बक्सको पनि उपस्थिति रहेको थियो ।
‘हज व्यवस्थापन सुचना प्रणाली’ का बारेमा देशका ४० वटा जिल्लाका सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराईने हज समितिको सचिवालयका सदस्य सचिव कृष्ण पौडेलले बताए। गोरखापत्र
प्रकाशित: १५ कार्तिक २०७८, सोमबार