
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले वाइफाइ हटस्पटहरु विनियमावली अनुरुप चले नचलेको अनुगमन गर्नका लागि योग्यता पुगेका संघ संस्थाहरुसँग आशयपत्र माग गरेको छ।
प्राधिकरणले आन्तरिक स्रोत परिचालन गरेर अगाडि बढाउने उक्त अनुगमन कार्यका लागि स्वदेशी परामर्शदाताहरुसँग आशयपत्र माग गरेको हो।
योग्यता पुगेका इच्छुक संघसंस्थाले www.bolpatra.gov.np/egp मार्फत् थप जानकारी लिएर आगामी कार्तिक २५ गते १२ बजेभित्र बुझाइसक्नुपर्ने प्राधिकरणले जनाएको छ।
यो आशयपत्रको छनोट क्यूईसी अर्थात् गुणस्तर, अनुभव र क्षमताका आधारमा हुनेछ भने उत्तीर्ण हुनका लागि ६० अंक आवश्यक पर्नेछ।
संघसंस्थाले एकल वा संयुक्त रुपमा आशयपत्र बुझाउनसक्ने र छानिएका संस्थाको काम आगामी जनवरी २ अर्थात् २०७८ पाैष १७ गतेदेखि हुने प्राधिकरणले जनाएको छ।
यसको उद्देश्य विभिन्न आईएसपीहरुले दूरसञ्चार प्राधिकरणको आर्थिक सहायतामा देशका विभिन्न सार्वजनिक क्षेत्रमा सञ्चालन गरिरहेका वाइफाइ हटस्पटसम्बन्धी उपनियम, २०७५ अनुसार चलेका छन् वा छैनन्, सुरक्षा जोखिमको अवस्था के कस्तो छ भन्नेबारेमा अनुगमन र परीक्षण गरी प्रमाणित गर्नका लागि मानक सञ्चालन प्रक्रिया अर्थात् स्ट्यान्डर्ड अपरेशन प्रोसिड्युर निर्माण गराउने हो।
छानिएको संस्थाले देशका विभिन्न भागमा रहेका वाइफाइ हटस्पटहरु मानक सञ्चालन प्रक्रियाअनुसार चलिरहेका छन् वा छैनन् भनेर निरीक्षण तथा अनुगमन गर्नेछ।
साथै उक्त संस्थाले उपनियमको मातहतमा रहेर कसरी प्रभावकारी निरीक्षण र अनुगमन गर्ने भन्ने विषयमा तालिम पनि प्रदान गर्नुपर्ने प्राधिकरणलै जनाएको छ।
छानिएको संस्थाले प्राधिकरणले तोके अनुरुप विभिन्न आईएसपीले सञ्चालन गरेका ५०० हटस्पटको निरीक्षण र अनुगमन गर्नेछन्।
साथै प्रभावकारी निरीक्षण र अनुगमनसम्बन्धी कम्तीमा ५ दिनसम्म १५ घण्टे तालिम प्रदान गर्नेछन्। त्यसपछि यसरी निरीक्षण र अनुगमनबाट प्राप्त रिपोर्ट नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउँदै वाइफाइ हटस्पटहरुको प्रभावकारी अनुगमनका आवश्य सुझावसमेत उपलब्ध गराउने बताइएको छ।
प्रकाशित: १२ कार्तिक २०७८, शुक्रबार