ग्राहक शुल्क स्वीकृत नै नगराई रकम उठाउँदै क्लासिक टेक, नियमनकारीले कारबाही गर्ने

  • Technology Khabar | १२ कार्तिक २०७८, शुक्रबार
ग्राहक शुल्क स्वीकृत नै नगराई रकम उठाउँदै क्लासिक टेक, नियमनकारीले कारबाही गर्ने
क्लासिक टेक प्रालिको नयाँ बानेश्वरमा रहेको मुख्य कार्यालयको फ्रन्टडेस्क। फाइल तस्विर

काठमाडौं ।

इन्टरनेट सेवाप्रदायक क्लासिक टेक प्रालिले ग्राहकसँग असुल गर्ने सेवा शुल्क अनुमति नै नलिईकन असुल गरेको भेटिएको छ।

कम्पनीले सेवाग्राहीहरुलाई ३२ एमबिपिएसको सेवाको महशुल दर स्वीकृत नै नगराईकन ग्राहकसँग रकम उठाएको भन्दै नियमनकारी निकायले कारबाही गर्ने भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको कात्तिक ५ गते बसेको बोर्ड बैठकले क्लासिक टेकको महशुल दरको बारेमा परेको उजुरीको आधारमा कम्पनीले सेवाको शुल्क स्वीकृति नै नलिएको भेटिएको भन्दै कारबाहीका लागि स्पष्टिकरण सोधेको हो।

प्राधिकरणमा सो कम्पनीका सेवाग्राहीले दिएको उजुरीको आधारमा छानबिन गर्दा दूरसञ्चार सेवाको शुल्क स्वीकृति सम्बन्धित निर्देशिका तथा अनुमतिपत्रको शर्त बमोजिम बिटिएल अफर-३२ एमबिपिएस प्याकेज अन्तरगतको ग्राहकसँग लिने महशुल दर प्राधिकरणबाट स्वीकृति नगराई तथा जानकारी नगराई ग्राहकसँग शुल्क असुल गरेको ठहर गरेको छ।

सोहि आधारमा क्लासिक टेकलाई कारबाही गर्नका लागि १५ दिने स्पष्टीकरण सोधिएको छ।

यसका साथै आगामी दिनमा त्यस्ता प्रकृतिको उजुरी नआउने वातावरण बनाउने तर्फ सचेत हुनका लागि थप अध्ययन समेत गर्ने भएको छ।

प्राधिकरण बोर्डले साधारण प्रकृतिका गुनासोहरु, विशेष प्रकृतिका गुनासोहरु र जटिल प्रकृतिका गुनासोहरुका विषयमा अध्ययन गर्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिएको छ।

प्रकाशित: १२ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार