आईफोन १३ सिरिज किन्दा नेपाल टेलिकमको मासिक ५ जीबी डाटा १ वर्षसम्म सित्तैमा पाईने

  • Technology Khabar | ११ कार्तिक २०७८, बिहीबार
आईफोन १३ सिरिज किन्दा नेपाल टेलिकमको मासिक ५ जीबी डाटा १ वर्षसम्म सित्तैमा पाईने

काठमाडौं ।

नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रा.लि.को सहकार्यमा एप्पलको आईफोन खरिदकर्ताहरुका लागि कम्पनीको डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र इभोलुसन ट्रेडिङ प्रालिका निर्देशक तरुण बज्राचार्यले कात्तिक १० गते हस्ताक्षर गरेका छन् ।

उल्लेखित सम्झौता अनुसार इभोलुसन ट्रेडिङका काठमाडौं उपत्यकामा रहेका ७ वटा र उपत्यका बाहिर सञ्चालन हुने आउटलेटहरु मार्फत आईफोन १३ वा सो भन्दा माथिल्लो भर्सनका आईफोन खरिद गर्ने ग्राहकलाई प्रतिमहिना ५ जीबी डाटा चलाउन मिल्ने प्याकेज १२ महिनाका लागि निःशुल्क उपलब्ध हुनेछ।

नेपाल टेलिकमका ग्राहकले हाल प्रयोग गरिरहेको नेपाल टेलिकमको पोस्टपेड वा प्रिपेड सिम नै नयाँ खरिद गर्ने आईफोन १३ मा प्रयोग गर्ने अवस्थामा उल्लिखित डाटा प्याकेज सोही सिममा उपलब्ध गराइनेछ। उक्त आईफोन १३ मा ग्राहकले नेपाल टेलिकमको नयाँ सिम लिई प्रयोग गर्न चाहेमा कम्पनीले नयाँ प्रिपेड सिम इभो स्टोरमार्फत निःशुल्क उपलब्ध गराउने टेलिकमले जानकारी दिएको छ।

यो सिममा मेन व्यालेन्स रु. १० र थप व्यालेन्स रु. ४० उपलब्ध हुनेछ। उक्त थप व्यालेन्सबाट कम्पनीको नेटवर्क भित्र ४० मिनेट भ्वाइस कल र २० वटा सन्देशका साथै ६० एमबी डाटा एक महिनाभित्र उपयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

एप्पलको आईफोन १३ का प्रयोगकर्ताहरुलाई बण्डल गरिएको नेपाल टेलिकमको डाटा प्याकेज थप आकर्षण हुने अपेक्षा गरिएको कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ।

प्रकाशित: ११ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...