
काठमाडौं ।
संयुक्त राज्य अमेरिकाको संघिय सञ्चार आयोग (एफसीसी) ले चाइना टेलिकमलाई प्रतिबन्ध लगाउने निर्णय गरेकोमा चीनले विरोध जनाएको छ।
अमेरिकाले राष्ट्रिय सुरक्षाको आधारमा चाइना टेलिकमलाई आफ्नो देशमा सञ्चालन गर्न प्रतिबन्ध लगाउनु भनेको ‘चिनियाँ कम्पनीको दूर्भाग्यपूर्ण दमन’ भएको प्रतिक्रिया दिएको छ।
बेइजिङले यस्ता कदमले सम्बन्ध बिग्रने चेतावनी दिएको चिनियाँ सरकारी टेलिभिजन सेवा सिजीटिएनले रिपोर्ट गरेको हो।
यसअघि अमेरिकी एफसीसीले चाइना टेलिकमले अमेरिकामा सेवा सञ्चालन गर्न नपाउने निर्णय गरेको थियो।
सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उक्त निकायले सन् २०२० को अन्त्यदेखि विचाराधीन रहेको प्रस्तावमाथि निर्विरोध रुपमा मतदान गर्दै यस्तो आदेश गरेको हो। आदेश अनुसार चीनको सबैभन्दा ठूलो सरकारी कम्पनीको भगिनी संस्थाका रुपमा रहेको चाइना टेलिकम यूएसले अमेरिकामा आफ्ना सेवा अबको ६० दिनभित्रमा हटाइसक्नुपर्नेछ।
चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता शु युटिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा चीनको आर्थिक तथा व्यापारिक टोलीले अमेरिकासँग ‘गम्भीर प्रतिनिधित्व’ गरेको र बेइजिङले घटनाप्रति गम्भीर चासो व्यक्त गरेको बताएका छन् ।
“अमेरिकी कदमले “राष्ट्रिय सुरक्षा” को अवधारणालाई सामान्यीकरण गरेको छ र तथ्यगत आधार बिना चिनियाँ कम्पनीमाथि कारबाही गरेको छ,” चिनियाँ मन्त्रालयका प्रवक्ता शु युटिङले भने।
प्रकाशित: ११ कार्तिक २०७८, बिहीबार