
काठमाडौं ।
सिगापुरमा अन्य ब्रान्डको तुलनामा टेस्लाका विद्युतीय गाडीहरु अत्यधिक बिक्री भएका छन्।
शहरको ट्राफिक तथा प्रदूषण नियन्त्रणका लागि नयाँ सवारी दर्तामा निकै कडाइ गरिएको सिंगापुरमा टेस्लाका गाडीहरुले अन्य ब्रान्डलाई पाखा लगाउने गरी व्यवसाय गर्न सफल भएको हो।
सिंगापुरमा स्वामित्व शुल्कका कारण अधिकांश आधारभूत मोडल ३ कारको १ लाख ४८ हजार ३०० डलर मूल्य पर्न आउँछ। यो मूल्य अमेरिकामा जम्मा ४० हजार डलर मात्रै रहेको छ।
यो हप्ता टेस्लाको बजार मूल्यांकन १ ट्रिलियन डलर नाघेको थियो। यो आँकडा उसका पाँच प्रतिस्पर्धी टोयोटा मोटर कर्प, फक्सवागन एजी, डेम्लर एजी, फोर्ड मोटर कं तथा जनरल मोटर्सको संयुक्त मूल्यांकनभन्दा बढी हो।
सिंगापुरको सडकमा नयाँ टेस्ला गाडीहरु तेस्रो त्रैमासमा १० गुणा बढेर ४८७ पुगेका बताइएको छ। सिंगापुरको भूमिवाहन सम्बन्धित निकाय एलटीएको रिपोर्ट अनुसार यो संख्या पहिलो ६ महिनामा जम्मा ३० मात्र रहेको थियो।
विज्ञहरुका अनुसार यो व्यापार बढ्नुमा एउटैमात्र कारण छैन। सिंगापुरले यो वर्ष विद्युतीय गाडी किन्नेलाई ४५ हजार सिंगापुर डलर अनुदान दिएको छ।
आपूर्ति श्रृङ्खलाका समस्यालाई अरु ब्रान्डले भन्दा बढी व्यवस्थापन गर्न सकेकोले माग अनुसारका गाडीहरु आपूर्ति गर्न सक्षम भएको बुझिएको छ।
सिंगापुरमा अघिल्लो महिना ३१४ ओटा टेस्ला गाडीहरु दर्ता भएका थिए। यो सङ्ख्या होन्डाइको बराबर तथा टोयोटा र होन्डाको भन्दा बढी रहेको तथ्याङ्कले देखाएको छ।
प्रकाशित: ११ कार्तिक २०७८, बिहीबार