
काठमाडौं ।
आफ्ना प्लेटफर्ममा रहेका बाल उत्पीडनसम्बन्धी सामग्री हटाउने फेसबुकको प्रयास अपर्याप्त र स्रोत साधनरहित भएको कम्पनीका पूर्व कर्मचारीले अमेरिकी अधिकारीहरुलाई बताएका छन्।
यूएस सेक्युरिटिज एन्ड एक्सचेन्जलाई २ हप्ताअघि बुझाइएको दस्तावेजमा यी आरोपहरु समावेश भएका बीबीसीले जनाएको छ।
नाम नखुलाइएका ती ह्विशलब्लोअरले कम्पनीका मोडरेटरहरु पर्याप्त तालिमप्राप्त तथा कामका लागि राम्ररी तयारी गरेका नहुने आरोप लगाएका छन्।
यसबारे फेसबुकले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘हामीलाई बाल उत्पीडनका यस्ता सामग्री तथा घटनाहरु सह्य छैनन्। यसविरुद्ध लड्न स्तरीय प्रविधिको प्रयोग गरिनेछ।’
कम्पनीले यस्तो भयावह अपराध अनुसन्धान, बालबालिको उद्धार तथा पीडितहरुलाई न्याय दिलाउन आवश्यक साधनहरुको विकास र निर्माणका लागि आर्थिक सहयोग गरिरहेको बताएको छ।
यसबाहेक आफ्नो उत्पीडन विरुद्धको प्रविधि अन्य कम्पनीहरुलाई पनि उपलब्ध गराएको फेसबुकले दावी गरेको छ।
फ्रान्सेस होगनले अमेरिकी कंग्रेससमक्ष यसै महिना फेसबुकको प्लेटफर्मले ‘बाल उत्पीडन गर्ने, फुटलाई प्रश्रय दिने तथा प्रजातन्त्रलाई नै जोखिममा पार्ने’ आरोप लगाएपछि कम्पनीले यो दावी गरेको हो।
यसै हप्ता होगनले आफूसँग भएका प्रमाणहरु प्रस्तावित अनलाइन सुरक्षा विधेयकको जाँच पड्ताल गरिरहेको बेलायतको संसदीय समितिलाई बुझाएकी छिन्।
यस सम्बन्धमा फेसबुक, ट्विटर, गुगल, यूट्युब तथा टिकटकका वरिष्ठ कार्यकारीले पनि प्रमाण पेश गर्न बाँकी रहेको बताइएको छ।
प्रकाशित: ११ कार्तिक २०७८, बिहीबार