अल्फाबेटले तेस्रो त्रैमासमा गुगल एडमार्फत् कमायो कीर्तिमानी नाफा

  • Technology Khabar | ११ कार्तिक २०७८, बिहीबार
अल्फाबेटले तेस्रो त्रैमासमा गुगल एडमार्फत् कमायो कीर्तिमानी नाफा

काठमाडौं ।

गुगलको माउ कम्पनी अल्फाबेट इंकले मंगलबार विज्ञापन मार्फत् अपेक्षा गरेभन्दा बढी नाफा भएको प्रतिवेदन सार्वजनिक गरेको छ।

कम्पनीको तेस्रो त्रैमासको यो नाफा यो व्यवसायले मोबाइल यूजरलाई ट्र्याक गर्ने सीमिततालाई तोडेको र बिदाको सिजन भएकाले अनलाइन शपिङ बढेको संकेत गरेको बताइएको छ।

आफ्नो सर्च इन्जिन, यूट्युब भिडियो सेवा तथा वेबमा साझेदारीमार्फत् गुगलले अन्य कम्पनीका तुलनामा धेरै इन्टरनेट विज्ञापन बेचेको छ।

गत वर्षदेखि कोरोना महामारीका कारण मानिसहरुले अनलाइनमा बढी समय बिताउन थालेपछि नयाँ बानीको विकास भएकोले गुगलका सेवाहरुको माग अत्यधिक बढेको हो।

गुगलको विज्ञापनमार्फतको आम्दानी तेस्रो त्रैमासमा ४१ प्रतिशतले बढेर ५३.१ अर्ब डलर पुगेको प्रतिवेदनमा उल्लेख छ।

अल्फबेटको समग्र बिक्री बढेर ६५.१ अर्ब पुगेको थियो। यो आँकडा रिफिनिटिभका विश्लेषकहरुले प्रक्षेपण गरेको ६३.३ अर्ब डलरभन्दा झण्डै २ अर्ब डलरले बढी हो।

‘मानिसहरुको डिजिटल क्षेत्रमा रुची बढेको र भोतिक स्टोरहरुमा मानिसको चहलपहल बढ्दा पनि यो प्रवृत्ति बढिरहेको पाइएको छ’, गुगलका चिफ बिजनेस अफिसर फिलिप शिन्डलरले बताए।

उनका अनुसार मानिसहरुले धेरै जानकारी, विकल्प र लचिलोपना खोज्न थालेकाले अब यो प्रवृत्ति घट्ने सम्भावना कम छ।

कम्पनीको त्रैमासिक नाफा १८ अर्ब डलर भएको थियो भने प्रति शेयर मूल्य अपेक्षाकृत २४.०८ बाट उल्लेख्य बढेर २७.९९ डलर पुगेको थियो।

प्रकाशित: ११ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...