
काठमाडौं ।
सामसङका उत्तराधिकारी ली जे-योङलाई गैरकानूनी रूपमा प्रोपोफोल नामक लागुऔषध प्रयोग गरेको अभियोगमा दोषी ठहर गरी जरिवाना गरिएको छ।
तनाबमा रहेका दक्षिण कोरियाली व्यवसायीले हालैका वर्षहरूमा दर्जनौं पटक एनेस्थेसियाको रूपमा प्रयोग हुने सो औषधि सेवन गरेका थिए।
दक्षिण कोरियाको कानून अन्तर्गत, नियन्त्रित औषधि प्राप्त गर्नेहरू र यसको व्यवस्थापन गर्नेहरूलाई पनि कारबाही गर्न सकिन्छ।
सामसङका विवादास्पद उत्तराधिकारी गत अगस्टमा पेरोलमा रिहा भएका थिए, उनले घूसखोरी र घोटालाको अभियोगमा २० महिना जेलमा बिताएका थिए।
उनको पछिल्लो परीक्षणको क्रममा, लीले छाला उपचारको आडमा सन् २०१५ देखि २०२० बीच धेरै पटक प्रोपोफोल प्रयोग गरेको अभियोजकहरूले आरोप लगाएका थिए।
तर उनका वकिलले सो लागुऔषधको प्रयोग उनको बुबाको अस्पतालमा भर्ना हुनु र उनको चलिरहेको कानुनी प्रक्रियासँग सम्बन्धित मनोवैज्ञानिक तनावको उपचारको लागि भएको दाबी गरेका थिए।
लीले ती आरोपहरू स्वीकार गरे। मंगलबार कोरियाको एक अदालतले उनलाई ७ करोड वोन अर्थात करिब ५९ हजार डलर जरिवाना गरेको छ।
धेरै अन्य नियन्त्रित पदार्थहरू भन्दा प्रोपोफोलको दूरुपयोग हुने सम्भावना कम भएकोले, अपराधीहरूले सामान्यतया जेल सजायको सट्टा जरिवाना पाउँछन्।
यो औषधी सामान्यतया शल्यक्रियाबाट गुज्रिरहेका बिरामीहरूलाई शान्त पार्न प्रयोग गरिन्छ, प्रोपोफोल कहिलेकाहीँ मनोरञ्जन क्षेत्रमा पनि प्रयोग गरिएको भेटिएको छ।
स्मरण रहोस् अमेरिकी पप गायक माइकल ज्याक्सनको सन् २००९ मा प्रोपोफोल ओभरडोजका कारण मृत्यु भएको पाइएको थियो।
दक्षिण कोरियामा हालैका वर्षहरूमा भएको मध्ये सबैभन्दा ठूलो भ्रष्टाचार काण्डमा देशका पूर्व राष्ट्रपति पार्क ग्युन-हेलाई घुस दिएकोमा लीलाई जनवरीमा साढे दुई वर्षको जेल सजाय सुनाइएको थियो। तर उनको नेतृत्वमा हाल देखिएको चीप अभाव कम हुने र भ्याक्सिन उत्पादनमा सहयोगी हुने भन्दै जेलबाट बाहिर निकालिएको थियो।बीबीसी
प्रकाशित: ९ कार्तिक २०७८, मंगलवार