
काठमाडौं ।
स्मार्ट सिटीको अवधारणामा अगाडि बढेको वालिङ नगरपालिकाले गाउँगाउँमा प्रविधिको विस्तारलाई जोड दिएको छ।
स्मार्ट सिटी निर्माणका लागि नगरले तयार पारेको १०६ वटा सूचकमध्ये ‘कनेक्टिभिटी’ एउटा सूचक रहेकाले सोहीअन्तर्गत नागरिक माझ प्रविधिको पहुँच विस्तार गर्ने लक्ष्यअनुसार कार्य अगाडि बढाएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए। विश्व समुदायले आधुनिक प्रविधिहरूको उच्चतम प्रयोगबाटै नयाँ/नयाँ आविष्कारहरू गर्दै अगाडि बढिरहेका बताउँदै प्रमुख खाँणले स्मार्ट सिटी निर्माणका लागि पनि नयाँ/नयाँ प्रविधिको प्रयोगबाटै सेवा प्रवाह हुनु आवश्यक रहेको बताए।
नगरपालिकाका १४ वटा वडामध्ये पहिलो चरणमा नगरपालिका कार्यालय, वडा कार्यालय र नगरका १७ वटा स्वास्थ्य संस्थामा फाइबर इन्टरनेट विस्तार गरिसकेको प्रमुख खाँणले बताए । दोस्रो चरणमा नगरका सम्पूर्ण विद्यालय, सरकारी सङ्घ संस्था तथा कार्यालयहरू र तेस्रो चरणमा १४ वटै वडाका ३१० वटा गाउँगाउँमा इन्टरनेटको सहज पहुँच पुर्याउने गरी काम अगाडि नगरपालिकाले बढाएको हो ।
प्रविधिको प्रयोगमार्फत कार्यालयहरूले सेवा उपलब्ध गराउने र सेवाग्राहीले विभिन्न एप्स तथा डिजिटल माध्यमबाट सेवा शुल्क भुक्तानी गर्ने सफ्टवयरको विकास गरेको बताउँदै खाणले सेवाग्राहीलाई सेवा लिन कार्यालयमा आइरहनु नपर्ने झण्झट पनि नहुने बताए ।
सबै वडामा नेपाल टेलिकमको फाइबर लिज लाइन कनेक्टिभिटी’ जडान गरिसकिएको छ भने वल्र्डलिङ्क कम्पनीको लाइन पनि जडान गरिएको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इञ्जिनियर प्रकाश अर्यालले बताए ।
नगरभित्रका १७ वटा मावि तहका सामुदायिक विद्यालय, १७ वटा स्वास्थ्य संस्था र सरकारी सङ्घ संस्था तथा कार्यालयमा वर्ल्डलिङ्कको फाइबर इन्टरनेट जडान भएको बताउँदै अर्यालले अब ५६ वटा सामुदायिक आधारभूत विद्यालयमा इन्टरनेट विस्तारका लागि काम अगाडि बढेको बताए । वर्ल्डलिङ्कले सबै कार्यालय तथा विद्यालयमा १० एमबीपीएस क्षमताको इन्टरनेट दुई वर्षसम्म निःशुल्क रूपमा उपलब्ध गराउने सम्झौता भएको अर्यालको भनाइ छ।
डिजिटल पद्धतिमार्फत नागरिकलाई सेवा उपलब्ध गराउनका लागि जनप्रतिनिधि तथा कर्मचारीलाई ‘विद्युतीय हाजिरी’का लागि क्रिप्टो टोकन उपलब्ध गराएको छ।
वालिङका नागरिकलाई कार्यालयमा उपस्थित नभएरै पनि सेवा लिन पाउने र डिजिटल माध्यमबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएको अर्यालले बताए । गोरखापत्र
प्रकाशित: ९ कार्तिक २०७८, मंगलवार