
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन व्यवसायलाई मर्यादित, व्यवस्थित र स्वच्छ बनाउन सबैको सामूहिक प्रयासको खाँचो औँल्याएका छन् ।
विज्ञापन बोर्डद्वारा आज यहाँ आयोजित विज्ञापन दिवस तथा अन्तक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कार्कीले सञ्चारमाध्यमबाट प्रकाशन/प्रसारण हुने विज्ञापनले वस्तु वा सेवाको प्रवर्धन मात्र नगरी आम उपभोक्ताको हितको संबर्धन गर्ने हुँदा यसतर्फ सञ्चारमाध्यम र विज्ञापनदाताले ध्यान दिनुपर्नेमा जोड दिए।
उनले विज्ञापनका सामग्रीको उत्पादनदेखि प्रकाशन/प्रसारणमा प्रयोग गरिने भाषा, तथ्यपरक जानकारी हुनुपर्ने बताउँदै राजमार्गमा गरिने विज्ञापन, शहरी क्षेत्रमा राखिएका होर्डिङ बोर्डले जनमानसमा कस्तो प्रभाव पारेको छ भन्नेबारेमा अध्ययन हुन आवश्यक भएको बताउ । विज्ञापनलाई मर्यादित बनाउन यससम्बन्धी ल्याउन लागिएको आचारसंहिताले सहयोग पुग्ने बताउँदै मन्त्री कार्कीले सरकारले ‘क्लिनफिड’ को नीति लिएपछि विज्ञापन बजारलाई विस्तार गर्न सहयोग पुगेको उल्लेख गरे।
उनले मुलुकलाई समृद्धितर्फ लैजान भाषण र दस्तावेजमा उल्लेख गरेरमात्र पुग्दैन, जनताले अनुभूत गर्ने खालका काम गर्नसके मात्रै राजनीतिक परिवर्तनको अनुभूति हुनसक्ने बताए । सरकारका प्रवक्ता मन्त्री कार्कीले भने, “हामीसँग उपलब्ध साधन स्रोतलाई उपयोग गर्दै १० वर्षभित्र दक्षिण एसियाकै समृद्ध मुलुक बनाउन सकिन्छ । यसमा हामी सबै उत्तिकै जिम्मेवार हुनुपर्दछ ।”
सो अवसरमा मन्त्री कार्कीले बोर्डले मस्यौदा गरेको विज्ञापन आचारसंहिताको अनलाइनमार्फत सार्वजनिक गरेका थिए।
कार्यक्रममा मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले कुनै पनि व्यवसायको प्रवर्धन र समग्र अर्थतन्त्रलाई चलायमान गराउन विज्ञापनको भूमिका महत्वपूर्ण रहने भएकाले सरकार विज्ञापन बजारलाई व्यवस्थित र मर्यादित गराउन प्रतिबद्ध रहेको बताए । उनले विज्ञापन रहित अर्थात क्लिन फिड प्रसारणमा हाल बिकृती देखिन थालेको भन्दै त्यसलाई नियन्त्रण गरिनुपर्ने बताए ।
सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले विज्ञापन मिडियाको अधिकार हो भन्ने मान्यता स्थापित गराउन आवश्यक रहेको बताउँदै मिडियालाई जीवन्त राख्न विज्ञापन बजारलाई विस्तार गर्दै लैजानुपर्ने धारणा राखे।
बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन उपभोक्ता, सञ्चारमाध्यम, विज्ञापनदातासँग प्रत्यक्ष सरोकार राख्ने हुँदा यसलाई व्यवस्थित र मर्यादित बनाउन आचारसंहिताको मस्यौदा तयार गरी आगामी पुसभित्र जारी गराउन तथा आगामी असार मसान्तभित्र राष्ट्रिय विज्ञापन नीति ल्याउने गरी गृहकार्य भएको जानकारी दिए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले विज्ञापन बजार बढाउन स्वदेशी उद्योगधन्दा फस्टाउनु जरुरी हुने भएकाले सन् २०३० सम्म एक सय मिलियन डलरको अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिँदै कोभिडबाट प्रभावित बन्न पुगेको विज्ञापन क्षेत्रलाई पनि अति प्रभावितसरह सुविधा दिन माग गरे।
नेपाल विज्ञापन सङ्घका अध्यक्ष सोमप्रसाद धितालले संस्थाले सुरुदेखि नै विज्ञापनलाई व्यवस्थित र मर्यादित बनाउन अलग्गै ऐन, आचारसंहिताको व्यवस्था, बोर्डको गठन हुनुपर्ने माग गर्दै आएको उल्लेख गर्दै बोर्डमा व्यवसायीको प्रतिनिधित्व नगरिएकामा गुनासो गरे।
मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले विज्ञापन कुनै वस्तु वा सेवाको ब्राण्डिङ गर्न गरिने भएकाले यसको समानुपातिक वितरण गर्न नमिल्ने बताउँदै कोरोनाबाट प्रभावित निजीक्षेत्रका सञ्चारमाध्यमलाई सहुलियत कर्जाको सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गरे ।
प्रकाशित: ८ कार्तिक २०७८, सोमबार