
काठमाडौं ।
ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत थप १९ जिल्लाका स्थानीय निकायमा ब्रोडब्यान्ड सेवा सञ्चालन भएको छ।
ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्यान्ड नेटवर्क विस्तार र सेवा सञ्चालनको जिम्मा पाएका दुई कम्पनीले पूर्व र पश्चिमका १९ जिल्लाहरुमा कार्य सम्पन्न गरेको प्रतिवेदन पेश गरेका छन्।
सरकारको विभिन्न जिल्लाका नगरपालिका गाउँपालिका वडा कार्यालय सामुदायिक माध्यमिक विद्यालय तथा सामुदायिक स्वास्थ्य संस्था/केन्द्र/अस्पतालहरुमा ब्रोडब्यान्ड सेवा पुर्याउने लक्ष्य अनुरुप नेटवर्क विस्तार तथा सेवा सञ्चालनको जिम्मा पाएका वर्ल्डलिंक कम्युनिकेशन्स, जावलखेल तथा टेक माइन्ड्स प्रालि, चितवनले क्रमश: ५ जिल्ला तथा १४ जिल्लामा कार्य सम्पन्न गरेका हुन्।
वर्डलिंक कम्युनिकेशन्सले कास्की, लमजुङ, पर्वत, स्याङ्जा तथा तनहुँ र टेकमाइन्ड्स प्रालिले पूर्वका इलाम, झापा, मोरङ, सुनसरी तथा उदयपुरसहित पश्चिमका बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर, बाग्लुङ, मनाङ, मुस्ताङ तथा म्याग्दी गरी १४ जिल्लामा आफ्ना कार्यसम्पन्न गरेको प्रतिवेदन नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष बुझाएका हुन्।
यी जिल्लाहरुमा ब्रोडब्यान्ड नेटवर्क विस्तार र सेवा सञ्चालनमा छुट वा कुनै त्रुटि भएको भए ३० दिनभित्र जानकारी दिन नेपाल दूरसञ्चार प्राधिकरणले ०१-५३५५७४७ नम्बरमा जानकारी गराउन आग्रह पनि गरेको छ।
NOTICE_RTDF_PROJECTS_22_October_2021प्रकाशित: ८ कार्तिक २०७८, सोमबार