
काठमाडौं ।
आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटअन्तरगत आज भारत र पाकिस्तान बिच प्रतिस्पर्धा हुँदैछ। नेपालसहित विश्वभरका क्रिकेट प्रेमीहरुको नजरमा यो आजको प्रतियोगिताले निकै महत्व राखेको छ।
आईसीसी टी-ट्वान्टी खेल भईरहँदा क्रिकेटमा प्रयोग हुने प्रविधिहरुको बारेमा समेत जानकारी राख्नु रोचक हुन्छ।
कुनैपनि म्याचको समयमा जब अम्पायरले निर्णयमा गल्ती गर्दछ। त्यसबेला अम्पायरको सो गल्ती सच्याउन प्रविधिले तेस्रो आँखाको रूपमा काम गर्छ।यसका साथै खेलसम्बन्धी रोचक जानकारीहरु समेत देखाउन वा भन्न प्रविधिमार्फत सहज भएको छ ।
हाल धेरै हाई-टेक टेक्नोलोजीहरु क्रिकेट खेलमा प्रयोग भइरहेका छन्। जसले गर्दा क्रिकेटलाई प्रविधि मैत्री खेलको रुपमा समेत लिने गरिन्छ ।
यहाँ हामी यी प्रविधिहरूको बारेमा बताइरहेका छौं; जुन अहिले क्रिकेटमा प्रयोग भइरहेका छन्-
१. स्टम्प क्यामरा
यो प्रविधि स्टम्पमा एक क्यामरा राखेर प्रयोग गरीन्छ। यसको साथमा माइक पनि जडान गरिएको हुन्छ, जसले आवश्यकक समयमा स्टम्प क्यामराबाट निर्णय दिन सकिन्छ। यसपटकको गेमहरुमा फ्रन्टसँगै रिभर्स क्यामरा पनि प्रयोग गरिएको छ।

काम कसरी गर्दछ: यो क्यामरा पिचको दुबै छेउमा राखिएको स्टम्पमध्ये बिचको स्टम्पमा इन्स्टल गरीएको छ। साथै, यसको पछाडिको भागमा माइक जडान गरिएको हुन्छ।
यो प्रविधिको साथ सजिलैसंग रन आउटको निर्णय दिन वा जब बलरको हातबाट बलद्वारा स्टम्प हिट हुन्छ त्यसबेला निर्णय दिनका लागि सहयोगी हुन्छ।
२. अम्पायर क्यामरा
यो क्यामरा विशेष गरी अम्पायरको लागि डिजाइन गरिएको हो, जुन अम्पायरको टोपीमा फिट गरीएको हुन्छ। यसको मद्दतले अम्पायरको ध्यान कहाँ छ भन्ने थाहा हुन्छ।

कसरी काम गर्दछ: अम्पायर क्यामराको मद्दतले, एक नयाँ भिजुअल एंगल टिभी दर्शकहरुले पाउँछन् । यसले म्याचको समयमा खेलाडीहरुलाई कुनै फाइदा दिँदैन। तर, कहिले काहिँ अम्पायरको नजिकबाट बलर फालेको बलको गतिविधि र आवाज स्पष्ट देख्न र सुन्न सकिन्छ।
३. स्निकोमिटर
क्रिकेटमा प्रयोग हुने एउटा टेक्नोलोजी स्निकोमीटर पनि हो। यो प्रविधि टेस्ट, एकदिवसीय, टी २० जस्तै फर्म्याटको सबै प्रकारमा प्रयोग गरिन्छ।

कसरी काम गर्दछ: यो प्रविधिले ध्वनिमा आधारित काम गर्दछ। बलरले बलिङ गर्दा, हातबाट बल छुटेदेखि ब्याट्सम्यानको ब्याटमा हिर्काएपछि वा किपरको पन्जामा जाँदा स्निकोमिटरद्वारा बलको गतिलाई निगरानी गरिन्छ।
बल ब्याटको धेरै नजिक जाँदा यो प्रविधि धेरै उपयोगी हुन्छ। त्यस समयमा, स्निकोमिटरको मद्दतले बललाई ब्याटले छोयो वा छोएन भन्ने जानकारी पाईन्छ।
यदि बलले ब्याटलाई अलिकति पनि छोएको खण्डमा एक ‘वेभ’ स्निकोमिटरमा आउँछ।
४. ग्राफिक्स प्याकेज
ग्राफिक्स कुनै पनि खेलको समयमा बिस्तृतमा विवरण देखाउन प्रयोग गरिन्छ। विशेष ग्राफिक्स प्याकेजहरु यसको लागी बनाइएको हुन्छ, जसमा हरेक साना साना र फरक जानकारीहरु मिलाएर स्क्रीनमा देखिने गरी तयार पारिएको हुन्छ।

कसरी काम गर्दछ: ग्राफिक्सको सहयोगले टिभी दर्शकहरुलाई म्याचको बारेमा जानकारी दिईन्छ। ग्राफिक्समा म्याजको प्रकार, म्याचको स्कोर, ब्याट्सम्यान/बलरको प्रदर्शन, खेलाडीको क्यारियर रेकर्ड, नेट रन रेट लगायतका जानकारी समावेश गरिएको हुन्छ।
आजभोलि ग्राफिक्सलाई क्रिकेट मैदान माथि र हावामा समेत देखाइने गरीन्छ।यसलाई म्याचको पूर्वावलोकन र समीक्षा (प्रिभ्यू र रिभ्यू )को लागि पनि प्रयोग गरिन्छ।
५. एलईडी स्टम्प तथा बेल
क्रिकेटमा हाल विशेष किसिमले बनाइएका एलईडी स्टम्प तथा बेलहरुको प्रयोग गर्न थालिएको छ। यस्ता सामग्रीहरु मूल्यका हिसाबले भने महंगा हुन्छन्।

कसरी काम गर्दछ: एलईडी स्टम्प तथा बेलहरु देख्दा जति आकर्षक हुन्छन् काम पनि त्यति नै भरपर्दो गर्छन्। जब बलले स्टम्पलाई लाग्छ तब बेलहरु उडेर अलग हुन्छन् र त्यसमा बत्ती बल्न थाल्छ। यस्तोमा रन आउट, स्टम्पिङजस्ता निर्णय गर्न अम्पालाई सहज हुन्छ।
६. हक आई
यो प्रविधिको प्रयोग हरेक क्रिकेट म्याचमा गर्न सकिन्छ। यसको सहयोगले एलबीडब्लूको निर्णय लिन सजिलो हुन्छ। यसबाट बल विकेटमा लाग्थ्यो वा लाग्दैनथ्यो भन्ने थाहा हुन्छ। यसलाई बल ट्र्याकिङ प्रविधिका नामले पनि चिनिन्छ।

कसरी काम गर्दछ: हक आईका लागि क्रिकेट स्टेडियममा ६ ओटा क्यामरा लगाइन्छ। यी क्यामराहरुको काम बलको दिशा ट्र्याक गर्ने हुन्छ। बलरको हातबाट बल फ्याँकिने बेलादेखि फिल्डरले रोक्ने बेलासम्म यी क्यामराहरुले बलको दिशा ट्र्याक गरिरहेका हुन्छन्।
यसपछि यी इमेजहरुलाई जोडेर कम्प्यूटरमार्फत् थ्रीडी इमेज बनाइन्छ। थ्रीडी इमेज बनाउने बेला बलको गति, बाउन्स तथा स्विङलाई विशेष ध्यानमा राखिन्छ। यसको सहयोगबाट एलबीडब्लूको निर्णय लिन अम्पायरलाई सघाउ पुग्छ।
७. पिच भिजन
यो प्रविधिको मद्दतबाट बलिङ र ब्याटिङको समीक्षा गरिन्छ। बलरले बल कति शर्ट, फुल, गुड लेन्थमा फ्याँक्यो भनेर यसबाट जाँच गरिन्छ। यसैगरी बलर कुन कुन बलमा बिट भयो र कुन कुन बललाई राम्ररी खेल्यो भन्ने समीक्ष पनि यसैमार्फत् हुन्छ।

कसरी काम गर्दछ: यो प्रविधिको मद्दतले म्याचका क्रममा फ्याँकिने प्रत्येक बलमाथि नजर राखिन्छ। अर्थात् बलरले पिचको कुन भागमा बल फ्याँक्यो र ब्याट्सम्यानले कुन बललाई कुन दिशातर्फ खेल्यो भन्ने यसबाट हेरिन्छ।
यो प्रविधि म्याच चल्दै गर्दा काममा आउदैन तर यसको सहयोगले बलर तथा ब्याट्सम्यानलनई आफ्नो प्रदर्शनमा सुधार ल्याउन भने मद्दत पुग्छ। यसबाट उनीहरुको कमजोरी पनि पत्ता लाग्छ।
८. स्पाइडर क्याम
वर्ल्डकपमा पहिलोपटक स्पाइडर क्यामको प्रयोग यसै पटक हुन लागेको हो। म्याच प्रत्यक्ष प्रसारणका लागि एचडी क्वालिटीका क्यामराका साथै स्पाइडर तथा ड्रोन क्यामराको पनि प्रयोग हुने भएको छ।

कसरी काम गर्दछ: क्रिकेट म्याचलाई माथिबाट अनुगमन गर्नका लागि स्पाइडर क्यामको प्रयोग गरिन्छ। यो क्यामराले पुरै म्याचमा माथिबाट अनुगमन गर्दछ।
यो केबल तथा तारको सहायताले फ्लाइङ एरियामा क्यामरालाई माथिबाट तल वा दायाँबाट बायाँ सबै तिर लैजान सकिन्छ। टीभीमा यी क्यामराहरुमार्फत् टप एंगल शट्स अझ राम्रो देखिन्छ।
९. बल स्पिन आरपीएम
यो प्रविधि विशेषगरी स्पिनरका लागि बनाइएको हो। स्पिनरले बललाई कति टर्न गराइरहेको छ भन्ने कुराको जानकारी यसै प्रविधिमार्फत् थाहा पाइन्छ।

कसरी काम गर्दछ: बल स्पिन आरपीएम प्रविधिले स्पिन बलरको हातबाट बल फ्याँकिएपछि कति गतिमा स्पिन भएको छ भन्ने देखाउँछ। यसबाट तुरुन्तै टीभी स्क्रीनमा बलको रोटेशनल स्पीड अर्थात् घुमाइ देख्न सकिन्छ।
१०. हट स्पट
यो एक विशेष प्रकारको प्रविधि हो, जसको सहायताले बलको स्पट प्वाइन्ट पत्ता लगाइन्छ। जहाँ बलले छुन्छ, त्यहाँ सेतो स्पट बन्दछ।

कसरी काम गर्छ: हट स्पट टेक्नोलोजीको सहायताले ब्याट्सम्यानको कुन अंगले बल छोएको छ भन्ने पत्ता लगाइन्छ। अर्थात् ब्याट, ब्याट्सम्यानको प्याड वा ब्याट्सम्यानको शरीरलाई बलले कहाँ छोएको छ भनेर थाहा पाउन सकिन्छ।
यसका लागि खेल मैदानको दुई छेउमा दुईवटा इन्फ्रारेड क्यामरा जडान गरिएको हुन्छ। यो क्यामराले ब्याट्सम्यानको प्याड वा ब्याटमा बलले लागेको तस्वीर खिच्दछ।
पछि यसले ब्ल्याक एण्ड ह्वाइट तस्वीरका साथ बलको स्थान देखाउँछ। यदि बलले ब्याटमा अलिकति पनि छोयो भने ब्याटमा सेतो स्पट बन्दछ। एजेन्सीहरुका साथ
प्रकाशित: ७ कार्तिक २०७८, आईतवार