भारतीय पेमेन्ट कम्पनी पेटीएमले १६ हजार ६ सय करोड भारुको आईपीओ ल्याउँदै

  • Technology Khabar | ७ कार्तिक २०७८, आईतवार
भारतीय पेमेन्ट कम्पनी पेटीएमले १६ हजार ६ सय करोड भारुको आईपीओ ल्याउँदै

काठमाडौं ।

छिमेकी देश भारतमा डिजिटल भुक्तानी सेवा कम्पनी पेटीएमले १६ हजार ६०० करोड भारतीय रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि नियमनकारी निकाय सेबीबाट अनुमोदन प्राप्त गरेको छ।

पेटिएमको मुख्य कम्पनी वान नाईन सेभेन कम्युनिकेशन लिमिटेडले भारतीय पुँजीबजारको इतिहास कै सबैभन्दा ठूलो आईपीओ ल्याउनको लागि अनुमति पाएको हो। यसअघि सन् २०१३ मा कोल इण्डियाले भारतमा १५ हजार करोड भारु बराबरको आईपीओ निष्काशन गरेको थियो ।

भारतको पुँजीबजारको नियामक निकाय सेबीले कम्पनीलाई १६ हजार ६ सय करोड भारु बराबरको आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको भएपनि कम्पनीले १८ हजार करोड भारुसम्म आईपीओ पुग्ने भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

कम्पनीले हाल आईपीओ भारु ३ हजार देखि ३ हजार २०० को मूल्यमा ल्याउने बताईएको छ।

कम्पनीले फ्रेस इक्विटी मार्फत ८३०० करोड र अफर फर सेल मार्फत ८३०० करोड जुटाउने बताईएको छ । पेटीएममा चिनियाँ टेक जायन्ट अलीबाबा अन्तरगत एन्ट ग्रुपको २९.७१ प्रतिशत, सफ्टबैंक भिजन फण्डको १९.६३ प्रतिशत, सेफ पार्टनर्सको १८.५६ प्रतिशत र विजय शेखर शर्माको १४.६७ प्रतिशत लगानी रहेको छ।

कम्पनीमा एजीएच होल्डिंग, टी रो प्राइज, डिस्कवरी क्यापिटल र बर्कशायर हाथवेको १० प्रतिशत भन्दा कम हिस्सेदारी रहेको छ । कम्पनीले आईपीओबाट उठेको रकम कम्पनीको पेमेन्ट इकोसिस्टमलाई थप मजबुत बनाउन र नयाँ बिजनेश इनिशिएटिभमा खर्च गर्ने जनाएको छ।

कम्पनीको आईपिओ मध्य नोभेम्बरमा भारत दुवै स्टक एक्सचेन्ज अर्थात् बिएसई र एनएसईमा सुचिकृत हुने इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ।

पेटिएमलाई विजय शेखरले सन् २००० मा सुरुवात गरेका थिए। सुरुमा कम्पनीले मूल्य अभिवृद्धि सेवा प्रदायकको रूपमा सेवा सुरु गरेर पछि यो अनलाइन मोबाइल भुक्तानी फर्मको रूपमा विकसित भयो ।

पेटीएम हाल भारतको दोस्रो सबैभन्दा बहुमूल्य इन्टरनेट कम्पनी हो । पछिल्लो पटक कम्पनीको मूल्य १६ बिलियन डलरको थियो । कम्पनीले नोभेम्बर २०१९ मा टी रो मूल्य, डिस्कवरी क्यापिटल र डी १ क्यापिटलको नेतृत्वमा १ बिलियन डलर जुटाएको थियो।

आईपीओ जारी गरेसँगै कम्पनीको मूल्य २० अर्ब डलर पुग्ने अनुमान गरिएको छ।

प्रकाशित: ७ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार