
काठमाडौं ।
टेस्लाले आफ्ना सबै स्ट्यान्डर्ड रेन्जका कारहरुमा प्रयोग हुने ब्याट्रीहरुको रासायनिक संरचना परिवर्तन गर्ने भएको छ।
कम्पनीले पहिलेको संरचना परिवर्तन गरेर अब लिथियम आइरन फोस्फेट क्याथोड बनाउने गत बुधबार तेस्रो त्रैमासको लगानीकर्ताको बैठकका बीचमा घोषणा गरेको हो।
यो निर्णयबाट टेस्लाले आफ्ना पूर्ण विद्युतीय कारको मूल्य वृद्धि नगरी नाफाको दायरा बढाउन खोजेको बुझिएको छ। विगतमा टेस्लामाथि आफ्ना सवारी साधनहरुको मूल्य घरी घरी बढाउने गरेको आरोप लाग्दै आएको थियो।
कम्पनीले यसका लागि शांघाइमा रहेको आफ्नो फ्याक्ट्रीमा एलएफपी अर्थात् लिथियम आयन फोस्फेटयुक्त ब्याट्री भएको कारको निर्माण थालिसकेको बताइएको छ।
यी कारहरु कम्पनीले चीन, दक्षिण एसिया तथा यूरोपम बिक्री गर्नेछ। अनुसन्धान तथा परामर्शदातृ संस्था रस्किलका अनुसार चीनले यस्ता ब्याट्रीको प्रयोग गर्न जोड दिँदै आएको छ।
उक्त संस्थाका अनुसार एलएफपी क्याथोडको ९५ प्रतिशत चीनमा नै उत्पादन हुने गर्दछ।
गत सेप्टेम्बरमा टेस्लाले मोडल ३ को प्रि अर्डर गरिसकेका अमेरिकीलाई निकेल कोबाल्ट अलुमिनियम अक्साइड- एनसीएको सट्टा एलएफपीयुक्त ब्याट्री भएको कार लिने या नलिने भनेर सोधेको थियो। टेस्लाले यसअघि अमेरिकामा बिक्री हुने मोडल ३ सेडानमा एनसीए ब्याट्री प्रयोग गरेको थियो।
प्रकाशित: ४ कार्तिक २०७८, बिहीबार