
काठमाडौं ।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा आएको अविरल वर्षाले अवरुद्ध भएको दूरसञ्चार सेवा बुधबारदेखि पूर्ण संचालनमा आएको छ। नेपाल टेलिकमका सेवाहरु विशेषगरि ७ जिल्लाहरुमा बाढि र पहिरोले गर्दा अवरुद्ध भएका थिए।
कम्पनीले बुधबारदेखि फोरजी लगायतका सबै सेवाहरु पुन: सुचारु गरिएको जानकारी दिएको छ।
कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले यसअघि प्रभावित जिल्लाहरुमा माइक्रोवेभ प्रविधिबाट टूजी सेवा तत्काल शुरु गरिएको र बुधबारबाट सबै सेवाहरु शुरु भएको बताए।
“हामीले तत्काल माइक्रोवेभ प्रविधिबाट टूजी सेवा संचालनमा ल्याएका थियौं तर हिजोदेखि फोरजी सेवा समेत संचालनमा आएको छ,” उनले भने, “यसको लागि हामीले नेपाल विद्युत प्राधिकरणको ओपिजीडब्लु केबलको सहयोग लिएका छौं ।”
कम्पनीले सबै सेवाहरु सुचारु भईसकेको बताए पनि टेलिकमको एडिएसएस केबुलको मर्मत कार्य भने अझै सुचारु भएको जानकारी दिए ।
उनले विभिन्न स्थानहरुमा बाटो बगाएको र पहिरोले गर्दा जान नसकिने अवस्था भएको हुँदा टुटेका केबुलहरु अवस्था सहज भएसँगै मर्मत गर्न टोली तयारी हालतमा रहेको बताए ।
यसैगरी नेपाल टेलिकमले बिराटनगरलगायतका क्षेत्रहरुमा समेत सेवा सुचारु गर्न जेनेरेटरमार्फत निरन्तर विद्युत आपूर्ति गरिएको जानकारी दिएकोछ।
हालै इनरुवामा रहेको विद्युत प्राधिकरणको सब स्टेशन नै जलमग्न भएर डुवेको र बिराटनगर क्षेत्र जलमग्न भएको अवस्थामा वैकल्पिकरुपमा जेनेरेटरमार्फत मोबाइल टावरहरुमा निरन्तर विद्युत आपूर्ति गरेर सेवा प्रदान गरिरहेको जानकारी दिएको हो ।
प्रबन्ध निर्देशक अधिकारीकाअनुसार यसअघि सो क्षेत्रमा पनि टूजी सेवामात्र संचालनमा थियो तर हाल थ्रीजी र फोरजी सेवा नै संचालन भईरहेको छ।
प्रकाशित: ४ कार्तिक २०७८, बिहीबार