
काठमाडौं ।
सोसल मिडिया जायन्ट फेसबुकले दुई वर्षदेखि चर्चा गर्दै आइरहेको क्रिप्टोकरेन्सी वालेट नोभीको परीक्षण शुरु गर्ने भएको छ।
फेसबुको भुक्तानी शाखाका प्रमुख डेभिड मार्कसले मानिसहरुले समुद्रपारका देशबाट रेमिटेन्स पठाउन सकुन् भन्ने उद्देश्यले हालै कम्पनीले अमेरिका र ग्वाटेमालमा नोभीको एउटा सानो पाइलट परीक्षण टोली गठन गरेको घोषणा गरेका छन्।
‘हामी यसको मुख्य फिचर, कस्टमर केयरका क्षेत्रमा हाम्रो सञ्चालन क्षमताको पाइलट परीक्षण गरिरहेका छाैं’, मार्कसले लेखेका छन्।
उनले आफूहरु यसले हालसम्म प्रयोग हुँदै आएका भुक्तानी उपकरणहरुभन्दा फरक स्टेबल क्वाइनका रुपमा काम गर्नेमा आशावादी रहेको पनि बताए।
नोभीलाई सीमित क्षेत्रमा मात्र सार्वजनिक गर्नुले फेसबुकले क्रिप्टोकरेन्सी सम्बन्धी लामो समयदेखि भोग्दै आएको समस्याको एउटा पाटोफ उजागर गरेको छ।
तर पनि कम्पनीले उक्त वालेट डाइमबिना नै सार्वजनिक गरेको हो। डाइम फेसबुकको प्रस्तावित क्रिप्टो मुद्रा हो र यसलाई शुरुमा लिब्रा नाम दिइएको थियो। यो मुद्रा विश्वका कानून निर्माता तथा नियामकहरुको विरोधका कारण सार्वजनिक हुन सकेको थिएन।
प्रकाशित: ३ कार्तिक २०७८, बुधबार