
काठमाडौं ।
हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङ क्षेत्रमा बिनाअनुमति उडाइएको मानवरहित हवाई उपकरण (ड्रोन) सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सीमा प्रहरीचौकी लोमान्थाङका प्रहरी नायव निरीक्षक (सई) डोलराज भण्डारी नेतृत्वको प्रहरी टोलीले असोज ३० गते र कात्तिक २ गते गरी दुई ड्रोनसहित २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रताप पौडेलले बताए।
उनकाअनुसार २०७८ आसोज ३० गते बिहान साढे ७ बजे लोमान्थाङ गाउँपालिका– ५ लोमान्थाङमा ड्रोन उडाउँदै गर्दा सुनसरीको धरान उपमहानगरपालिका– ११ का ३९ वर्षीय राजेश शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
यसैगरी गएको मंगलबार २ गते काठमाडौं महानगरपालिका– ३१ का ३५ वर्षीय निशेक बस्नेतलाई बिहान १० बजेर २० मिनेट जाँदा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय जोमसोम पठाइएको सीमा प्रहरीचौकी लोमान्थाङका सई भण्डारीले नियन्त्रणमा लिएर जिल्ला पठाएको इन्सपेक्टर पौडेलले बताए।
नियन्त्रणमा लिएको दुवै जनाबाट बरामद ड्रोनसहित नागरिक उड्ययन कार्यालय मुस्ताङलाई आवश्यक कारवाहीको लागि बुझाइएको प्रहरीले जनाएको छ।
हिमालपारीको जिल्ला मुस्ताङको माथिल्लो भेग निषेधित क्षेत्र भएकाले त्यस क्षेत्रमा विना अनुमति ड्रोन उडाउने जस्ता गतिविधि निषेध गरिएको छ ।
प्रहरीले मुस्ताङ प्रवेश गर्ने नाका घाँसा तथा जोमसोम विमानस्थलमा पनि उपल्लो मुस्ताङ वा जिल्लाका कुनै पनि क्षेत्रमा ड्रोनको प्रयोग नगर्न अनुरोध गरिएको भएपनि लुकिछिपि ड्रोन उडाउने गरेको स्थानीयको गुनासो छ।
उडाएको ड्रोन भेटेपछि प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाउने गरेको इन्सपेक्टर पौडेलले बताए ।
जोमसोम नागरिक उड्डयन कार्यालय मुस्ताङका प्रमुख पुस्कलराज शर्माले दुईवटा ड्रोन प्रहरीले आफूलाई बुझाएको र सोको बारेमा सम्बन्धित निकायमा जानकारी गराएको बताए। उनले भने “आवश्यक कारवाहीका लागि सम्बन्धीत निकायमा जानकारी गराएको छु ।”
मानवरहित हवाई उपकरण उडानसम्बन्धी कार्यविधि–२०७५ को बुँदा नम्बर ११ मा निषेधित क्षेत्र भनेर धार्मिक, पुरातात्विक, ऐतिहासिक वा नियन्त्रित क्षेत्र भनी तोकिएका क्षेत्रमा उडान गर्न नपाइने भनेर उल्लेख गरिएको छ।
त्यस्तै बुँदा नम्बर १२ को (क) मा नागरिक उड्डयन प्राधिकरणमा उपकरण दर्ता गरेर मात्रै उड्डयनको अनुमति लिनुपर्ने भएपनि मुस्ताङमा उडान गरिएको उपकरणले कुनै प्रक्रिया पुरा नगरेको देखिएकोले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। गोरखापत्रअनलाइनबाट
प्रकाशित: ३ कार्तिक २०७८, बुधबार