
काठमाडौं ।
स्टार ट्रेकका चर्चित कलाकार विलियम शाटनर तथा उनका ३ सहयात्री सहितको टोली ब्लू ओरिजिनको न्यू शेफर्ड टुरिस्ट रकेटमार्फत् अन्तरिक्षको किनारासम्म पुगेर बुधबार सकुशल पृथ्वीमा फर्केका छन्।
यो टोली टेक्ससको भ्यान हर्नमा रहेको ब्लू ओरिजिनको प्रक्षेपण केन्द्रबाट बिहान ९:५० ईटीमा उडेका र ६६ माइलको उचाइमा पुगेर सकुशल पृथ्वीमा अवतरण गरेको थियो।
शाटनरसँगै उक्त रकेटमा अन्य दुई जना शुलक् तिरेका यात्रु तथा अर्को १ जना ब्लू ओरिजिनकै कर्मचारी रहेका बताइएको छ।
शुल्क तिरेर उड्नेहरुमा साना स्याटेलाइट कम्पनी प्लानेट ल्याब्सका सह संस्थापक क्रिश बोशिजन तथा मेडिडाटा सफ्टवयर कम्पनीका सह संस्थापक ग्लेन डी भ्राइज रहेका थिए। यसैगरी कम्पनीको प्रतिनिधिका रुपमा ब्लू ओरिजिनका मिसन तथा फ्लाइट अपरेशन्सका उपाध्यक्ष अड्रे पावर्स रहेका थिए।
शाटनरले पृथ्वीमा फर्केपछि आँखाभरी आँसु पारेर निकै भावुक हिसाबले कुरा गरेको द भर्जले उल्लेख गरेको छ। ‘तपाइँले मलाई प्रदान गर्नुभएको अवसर मेरा लागि निकै नै महत्वपूर्ण अनुभव हो’, उनले बेजोसलाई भने, ‘’भर्खरै जे भयो यस हिसाबले म निकै भावविह्वल भएको छु, यो अद्वितीय थियो, मलाइ लाग्छ म यसबाट कहिल्यै बाहिर आउन सक्दिन।’
उनले आफूले भर्खरै देखेर आएको दृश्य सबैजनाले हेर्नु/देख्नुपर्ने तर्क गर्दै नीलो आकाश हुँदै अन्तरिक्षको घोर अँध्यारो देख्नुको अनुभव निकै अद्वितीय हुने बताए। ‘के मृत्यु यस्तै हुन्छ?’ उनले भावुक हुँदै प्रश्न गरे।
प्रकाशित: २८ आश्विन २०७८, बिहीबार