
काठमाडौं ।
गुगलले फोर्टनाइट गेममा रहेको इन-एप पर्चेजमा प्ले स्टोरसँगको सम्झोता उल्लङ्घन गरेको आरोप लगाउँदै एपिक गेम्समाथि मुद्दा दायर गरेको छ।
हालै जेडडीनेटले उक्त तथ्यसम्बन्धी समाचार प्रकाशित गरेको हो। समाचार अनुसार एपिक गेम्सले गत अगस्टमा गुगलमाथि मुद्दा दायर गरेको थियो। एपिक गेम्सले गुगल र एप्पल दुवैका विरुद उजुरी गरेपछि त्यतिबेला एप्पलले भने एपिक गेम्समाथि नै मुद्दा हालेको थियो।
एपिक गेम्सले फोर्टनाइट गेमको मेगाड्रप अपडेटमार्फत् प्लेस्टोर बाहिरबाटै भुक्तानी गर्न सकिने बनाएपछि गुगलले प्लेस्टोरबाट उक्त एप हटाइदिएको थियो र एपिकले गेम हटाएको विरोधमा गुगलमाथि मुद्दा दायर गरेको थियो।
गुगलले एप्पलको एप स्टोरभन्दा फरक भएकाले एन्ड्रोइड डेभलपरहरुलाई गुगल प्ले नै प्रयोग गर्न बाध्य नपारेको बताएको छ। उजुरीमा गुगलले लेखेको छ, ‘गुगलले एन्ड्रोइड मार्फत् आएका विकल्पहरु, गुगल प्लेको नीति तथा गुगलको डेभलपर तथा निर्माताहरुसँगको सम्झोतालाई लाई सपोर्ट गर्छ।’
प्रकाशित: २६ आश्विन २०७८, मंगलवार