
काठमाडौं ।
छिमेकी देश भारतमा व्यावसायिकरुपमा अझै ५ जी नेटवर्क शुरु भएको छैन् तर भारतीय सरकारले सिक्स जी परीक्षणको लागी तयारी शुरू गरेको छ।
भारतको दूरसञ्चार विभागले यसको परीक्षणको जिम्मा सरकारी दूरसञ्चार अनुसन्धान कम्पनी सी-डटलाई दिएको छ । भारतीय मिडियामा आएको जानकारी अनुसार विभागले सी डटलाई ६जी नेटवर्क सम्बन्धी सबै प्राविधिक सम्भावनाहरुलाई विचार गर्न भनेको छ।
विश्वव्यापी स्मार्टफोन निर्माताहरु सामसङ, एलजी र ह्वावेले यसअघि नै सिक्सजी टेक्नोलोजीमा काम शुरू गरिसकेका छन्। एक रिपोर्टका अनुसार ६ जी टेक्नोलोजीमा इन्टरनेटको गति ५जी भन्दा ५० गुणा छिटो हुनसक्छ।
विशेषज्ञहरुका अनुसार २०३० सम्म सिक्सजी प्रविधि विश्वव्यापीरुपमा प्रयोगमा आउनेछ। हाल भारतमा फाइभजी नेटवर्कमा ट्रायल चलिरहेको छ र यसको सेवा उपलब्ध हुन बाँकी छ।
भारतमा अहिले मोबाइल प्रयोगकर्ताहरुले फोरजी टेक्नोलोजीमा आधारित सेवाहरुको उपयोग गरीरहेका छन्। फाइभजी केहि टेलिकम कम्पनीहरुले परीक्षण गरीरहेका छन भने सिक्सजी नयाँ पुस्ताको प्रविधि हुनेछ।
विश्वका कयौं देशहरु तथा प्रतिद्धन्दी देश चीनले समेत सिक्सजीमा अनुसन्धान शुरु गरेपछि प्रविधिको क्षेत्रमा अन्य देशभन्दा पछाडी हुने आशंकामा भारतले पनि अनुसन्धान शुरु गरेको मिडियाहरुले उल्लेख गरेका छन् । एजेन्सीहरुका साथ
प्रकाशित: २६ आश्विन २०७८, मंगलवार