शाओमी नेपालमा आयात हुनेमध्ये दोस्रो मोबाइल ब्राण्ड, सामसङको अवस्था झन कमजोर हुँदै

  • Technology Khabar | २६ आश्विन २०७८, मंगलवार
शाओमी नेपालमा आयात हुनेमध्ये दोस्रो मोबाइल ब्राण्ड, सामसङको अवस्था झन कमजोर हुँदै

काठमाडौं ।

नेपालमा गत आर्थिक वर्ष २०७७/७८ मा दर्ता भई कानूनीरुपमा आयात भएका मोबाइल ब्राण्डहरुमध्ये सबैभन्दा धेरै आईटेल ब्राण्डको रहेको छ।

आईटेल ब्राण्डका मोबाइल फोनहरु नेपालको कुल आयातको १७ प्रतिशत हिस्सा ओगटेको देखिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदनकाअनुसार गत आवमा आईटेलका फोनहरु सबैभन्दा धेरै आयात भएका हुन्।

त्यसपछि भने धेरै आयात हुने मोबाइल ब्राण्डको दोस्रो स्थानमा शाओमी रहेको छ । नेपाली बजारमा आयात हुने फोनमध्ये शाओमीको हिस्सा १३ प्रतिशत रहेको देखिन्छ ।

आईटेल र शाओमीले मात्रै नेपालको मोबाइल आयातमा संयुक्तरुपमा कुल ३० प्रतिशत हिस्सा लिएको देखिन्छ ।

आईटेलले विशेषगरि बार फोन अर्थात फिचर फोनमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ भने शाओमीले बजेट र मिड रेन्जका स्मार्टफोनमा आक्रामक बजार बिस्तार गरिरहेको देखिन्छ।

प्रतिवेदनअनुसार स्थानीय बजारमा आयातको तेस्रो स्थानमा लाभाले कब्जा गरेको छ । लाभाको आयात हिस्सा १२ प्रतिशत रहेको देखिन्छ ।

विश्वमा अग्रस्थानमा रहने दाबी गर्दै आएको सामसङ्गको अबस्था भने नेपाली बजारमा टप थ्रीबाट बाहिरीएको देखिएको छ । नेपालमा धेरै आयात हुने ब्राण्डहरुमध्ये सामसङले केवल ८ प्रतिशत हिस्सा लिँदै चौथो स्थानमा रहेको छ ।

त्यसैगरी पाँचौं स्थानमा समान ७ प्रतिशत आयात हिस्सासहित्त कलर्स र ट्याम्बो रहेका छन् । चीनमा एसेम्बल हुने कलर्स नेपाली मोबाइल ब्राण्ड हो। अर्कोतर्फ ट्याम्बो भने भारतीय ब्राण्डको रुपमा परिचित रहेकोछ ।

त्यसपछि भने चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोले लिएको छ । भिभोले ३ प्रतिशत आयात हिस्सा ओगटेर सूचीको छैठौं नम्बरमा रहेको छ ।

सातौंदेखि १० औं स्थानसम्म समान २ प्रतिशत आयात हिस्सा लिँदै रियोट, किभी र रियलमी मोबाइल ब्राण्ड टप १० सूचीमा रहेका छन् ।
रियलमी पछिल्लो दिनमा आक्रामक बजारीकरण गर्दै नेपाली बजार बिस्तारको क्रममा रहेकोछ ।

तथ्यांकअनुसार यी प्रमुख १० ब्राण्डहरुले नेपालमा कुल आयात हुने फोनको कुल ७३ प्रतिशत हिस्सा ओगटेका छन् । बाँकी २७ प्रतिशत हिस्सा अन्य ब्राण्डको रहेको छ ।

नेपाली बजारमा कुनै समय टप थ्री मोबाइल ब्राण्ड रहेको ओपोको नामोनिशान सो प्रतिवेदनको टप १० सूचीमा छैन् ।

प्राधिकरणले नेपाली बजारमा आयात हुने मोबाइलहरुका लागि आईएमईआई दर्ता गरेर अनुमति दिने गरेकोछ । जसको आधारमा मोबाइल ब्राण्डहरुले आधिकारीकरुपमा फोन आयात तथा बिक्री गर्ने गर्दछन्।

स्मरण रहोस् प्राधिकरणले अनधिकृत मोबाइल प्रयोग रोक्न मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ । जसले अवैधरुपमा नेपालमा आउने फोनहरुलाई लक गर्दछ।

प्रकाशित: २६ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Veel Announces Nepal Pilot to Empower Creator Economy

  • Technology Khabar
  • २६ आश्विन २०७८, मंगलवार