
काठमाडौं ।
बैंक तथा वित्तीय संस्थाहरुले अब कर्जा तथा निक्षेपमा दिने ब्याजदर ग्राहकहरुलाई इन्टरनेट बैंकिङ्ग तथा मोबाइल एप्समा नै उल्लेख गर्नुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले आज नयाँ निर्देशन जारी गर्दै इजाजतपत्रप्राप्त संस्थाले आफ्नो इन्टरनेट बैंकिङ तथा मोबाइल एप्लिकेशनमा कर्जा एवम् निक्षेपको ब्याजदर प्रष्ट देखिने व्यवस्था मिलाउन भनेको हो।
यसअघिको निर्देशिकामा यस्तो व्यवस्था नभएकोमा नयाँ एकीकृत निर्देशकामा कर्जा तथा निक्षेपमा दिने ब्याजदर ग्राहकहरुलाई इन्टरनेट बैंकिङ्ग तथा मोवाइ एप्समा नै उल्लेख गरेर जानकारी दिन निर्देशन दिएको हो।
यसका साथै केन्द्रिय बैंकले अपाङ्गता भएका व्यक्तिहरुलाई एटिम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग जस्ता वित्तीय सेवाहरु प्रदान गर्न भनेको छ ।
यसअघिको व्यवस्थामा एटिएमको विषय मात्र उल्लेख भएकोमा नयाँ निर्देशिकाले मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्गलाई समेत समेटेको छ ।
“बैंक तथा वित्तीय संस्थाहरुले अपाङ्गगता भएका व्यक्तिलाई एटिम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग जस्ता वित्तीय सेवाहरु व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्षम रहेको यकिन गरी उपलब्ध गराउनु पर्नेछ,” निर्देशिकामा भनिएको छ।
प्रकाशित: २५ आश्विन २०७८, सोमबार