प्रभावकारी बन्दै अनलाइन सरुवा प्रणाली

  • Technology Khabar | २२ आश्विन २०७८, शुक्रबार
प्रभावकारी बन्दै अनलाइन सरुवा प्रणाली

काठमाडौं ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन सरुवा प्रणालीलाई प्रभावकारी बनाउन भौतिक उपस्थितिमा सरुवा गर्ने कार्यलाई निरुत्साहित गर्ने नीति लिएको छ।

सरुवा प्रणालीलाई छिटो, छरितो, विश्वसनीय र समयको समेत बचत गर्ने उद्देश्यले गत वर्षदेखि सुरु गरेको सरुवा प्रणालीलाई प्रभावकारी बनाउन मन्त्रालयले भौतिक उपस्थितिमा सरुवा गर्ने कार्यलाई निरुत्साहित गर्दै आएको हो।

मन्त्रालयका उपसचिव रुपनारायण खतिवडाले अनलाइन सरुवा प्रणालीबाट कर्मचारीको सरुवा गर्दा भनसुन गर्न नपर्ने, समय, श्रम, लागतसमेत बचत हुने भएकाले अनलाइन सरुवा प्रणालीलाई नै थप विश्वसनीय बनाउने उद्देश्यले भौतिक उपस्थितिमा सरुवा प्रणालीलाई निरुत्साहित गर्न थालिएको बताए।

“सकेसम्म भौतिक रूपमा सरुवाको निवेदन लिएर मन्त्रालयमा नधाउन सबै कर्मचारीलाई आग्रह गरिएको छ,” उनले भने, “कतिपय कर्मचारीले अझै पनि भौतिक रूपमा नै सरुवाको निवेदन लिएर मन्त्रालय आउने गरिएका त्यस्ता कर्मचारीको निवेदन बुझ्ने गरिए पनि मन्त्रालयले सम्झाएर अनलाइन प्रणालीबाट सरुवा गर्न सुझाव दिँदै आइएको छ।”

मङ्सिरदेखि अहिलेसम्म अनलाइनबाट सरुवा हुनका लागि करिब एक हजार सात सय जनाले निवेदन दिएको मन्त्रालयले जनाएको छ । निवेदन दिएकामध्ये करिब चार सय जनाले रोजेकै कार्यालयमा सरुवा पाएका छन् ।

उनका अनुसार अनलाइन सरुवा सुरु भएपछि दुर्गम क्षेत्रका कर्मचारीले सरुवा निवेदन बोकेर मन्त्रालयसम्म धाउनुपर्ने अवस्थाको अन्त्य भएको, घरैमा बसीबसी रोजेकै कार्यालयमा सजिलै सरुवा हुन थालिएको, मन्त्रालयका कर्मचारीको पनि अधिकांश समय निवेदन लिनै र मान्छे भेट्नैमा समय बचत हुन थालेको छ।

खतिवडाले भने, “मन्त्रालय सधैँ सरुवा प्रणालीमै अल्झिनु पर्दैन मन्त्रालयको इमेलमा आएको निवेदनलाई महिनाको २५ देखि ३० गतेभित्र सरुवाको काम गर्ने गरे पुग्ने भएको छ ।”

पहिला एक महिना नै सरुवा प्रणालीमा खटिनुपर्ने तर अहिले महिनाको पाँच दिन मात्र सो काम गर्दा पर्याप्त हुने मन्त्रालयले जनाएको छ । गोरखापत्र

प्रकाशित: २२ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...