
काठमाडौं ।
क्याननले हालै आफ्नो ईओएस आर मिररलेस क्यामरा सिस्टमका लागि ५.२ एमएमको एफ२.८ अपर्चरयुक्त लेन्सको घोषणा गरेको छ।
यी फिशआई लेन्सहरु एक आपसमा ६० मिलिमिटर पर रहेका छन् भने यिनीहरुको डिजाइन थ्रीडी भीआर फोटो तथा भिडियो सामग्री बनाउनका लागि गरिएको बताइएको छ।
क्याननले ओक्युलस क्वेस्ट २का लागि लक्षित गरेर यसलाई ल्याइएको र यो स्टेरियोस्कोपिक थ्रीडी १८० डिग्री को भीआर फोटो तथा भिडियोलाई सिंगल इमेज सेन्सरमा खिच्न सक्ने विश्वकै पहिलो डिजिटल इन्टरचेन्जेबल लेन्स भएको क्यामरा दावी गरेको छ।
यो लेन्स ईओएस आर५ मा ८के सम्मको फोटो/भिडियो खिच्नका लागि प्रयोग गर्न सकिन्छ र तत्कालका लागि यो लेन्स यही क्यामरामा मात्र फिट हुने बताइएको छ।

यसैबीच क्याननले आर५ का लागि प्रिमियर प्रो प्लग-इनका रुपमा १.५.० फर्मवयर अपडेट तथा ईओएस भीआर यूटिलिटी नामक स्वतन्त्र फाइल कन्भर्जन एप पनि जारी गरेको छ।
कम्पनीले यो समग्रतालाई ईओएस भीआर सिस्टम नाम दिएको छ र यो सफ्टवयर सब्सक्रिप्शनका आधारमा उपलब्ध गराइने बुझिएको छ।
यो लेन्सको मूल्य १, ९९९ डलर तोकिएको छ भने ईओएस आर५ को मूल्य ३, ८९९ डलर रहेको छ। यी दुवै डिभाइस आगामी डिसेम्बरमा सार्वजनिक गरिने बताइएको छ।
प्रकाशित: २१ आश्विन २०७८, बिहीबार