शिक्षणमा सूचना प्रविधिको प्रयोगमा जोड दिँदै विश्व शिक्षक दिवस मनाईयो

  • Technology Khabar | २० आश्विन २०७८, बुधबार
शिक्षणमा सूचना प्रविधिको प्रयोगमा जोड दिँदै विश्व शिक्षक दिवस मनाईयो

काठमाडौं ।

विश्व शिक्षक दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधिको उपयोगसहित शिक्षण क्रियाकलापमा शिक्षकको भूमिकाबारे छलफल गर्दै नेपालमा पनि दिवस मनाइएको छ।

महिला शिक्षक समाज केन्द्रीय समितिको आयोजना तथा युनेस्को काठमाडौँको प्राविधिक सहयोगमा भर्चुअलरूपमा मंगलबार आयोजित कार्यक्रममा शिक्षा, विज्ञान प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सरकारले शिक्षकको सूचना तथा सञ्चार प्रविधि सीप र शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिका विषयमा गुरुयोजना बनाएर काम गर्ने बताए। उनले विषम स्थितिमा पनि शिक्षकहरूले सिकाइ निरन्तरतामा दिएको योगदानको प्रशंसा गर्दै आफ्नो पेशाप्रति जिम्मेवार हुन आग्रह गरे।

मन्त्रालयका सहसचिव डा. हरि लम्सालले शिक्षकलाई सरकारी स्तरबाट तालिम तथा परामर्शको कमी भए पनि आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा पूरा गर्ने गरेको र गुरुयोजना लागु भएपछि शिक्षकलाई थप सहजीकरण हुने बताए। युनेस्को काठमाडौंका शिक्षा प्रमुख डा. बलराम तिमल्सिनाले कोरोना कहरमा विद्यालय शिक्षामा सूचना र सञ्चारको प्रयोग विषयमा शिक्षकहरू जिम्मेवार र सक्रिय भएमा विद्यार्थीले लाभ लिन सक्ने जनाए।

युनेस्को प्रस्तावमा सन् १९६६ देखि हरेक अक्टोबार ५ लाई विश्व शिक्षक दिवसका रुपमा मनाइँदै आएको छ । यस वर्षको दिवसको नारा ‘शिक्षकहरू शैक्षिक सुधारको मुटु हुन्’ रहेको छ ।

समाजका अध्यक्ष डा. जानुका नेपालले आधुनिक परिवेशमा शिक्षकको भूमिका परिवर्तन भएकाले शिक्षकले आफ्नो काममा आफू जागरुक तुल्याई विद्यार्थीको सिकाइमा सहजकर्ताका रूपमा प्रस्तुत हुनुपर्ने बताईन्। गोरखापत्र अनलाइन

प्रकाशित: २० आश्विन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार