
काठमाडौं ।
नेपाल सरकारको ग्रामीण दूरसञ्चार पूर्वाधार विकासको योजना अनुरुप ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत २०७८ भाद्र मसान्तसम्म ९४.४१ प्रतिशत काम सम्पन्न भएको छ।
ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ ओटा प्याकेजमध्ये १६ ओटा प्याकेजहरु मार्फत् ६५ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा १०० प्रतिशत काम सकिएको छ। यस्तै एउटा प्याकेज मार्फत् ५ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा ५० प्रतिशतभन्दा बढी काम सकिएर सेवा सञ्चालनमा आएको छ।
साथै एउटा प्याकेजमार्फत् ४ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा नेटवर्क तथा कनेक्टिभिटी जडानको ३० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।
हालसम्म जडान कार्य सम्पन्न भइ सञ्चालनमा रहेका साइटहरुको विवरण यस प्राधिकरणको वेबसाइटमा रहेको लिंकमा हेर्न सकिन्छ।
सम्पन्न भएका परियोजनाहरु मध्ये हालसम्म ६ वटा परियोजनाको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भइसकेको छ। त्यस्तै २ ओटा परियोजनाहरुको प्राधिकरणबाट नियुक्त परामर्शदाताहरुबाट पहिलो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम भइरहेको छ।
२ ओटा परियोजनाहरुको दोस्रो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम भइरहेको छ। त्यस्तै एउटा परियोजनाको तेस्रो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम भइरहेको प्राधिकरणको प्रगति विवरणमा उल्लेख छ।
२०७८ भाद्र मसान्तसम्म ब्रोडब्याण्ड परियोजनाहरुको संक्षिप्त भाैतिक प्रगति विवरण यस्तो छ:
| विवरण | स्थानीय निकायको कार्यालय | वडा कार्यालय | माध्यमिक विद्यालय | स्वास्थ्य संस्थाको संख्या | जम्मा |
| सम्झाैता भएका १८ प्याकेजका साइट संख्या | ७०२ | ५,९३३ | ५,२२५ | ४,१२२ | १५,९८२ |
| इन्टरनेट जडान सम्पन्न भएको | ६६३ | ५,५५५ | ४,९२५ | ३,९४६ | १५,०८९ |
| जडान गर्न बाँकी संख्या | ३९ | ३७८ | ३०० | १७६ | ८९३ |
| इन्टरनेट जडान सम्पन्न प्रतिशत | ९४.४४ | ९३.६३ | ९४.२६ | ९५.७३ | ९४.४१ |
प्रकाशित: २० आश्विन २०७८, बुधबार