
काठमाडौं ।
ह्वाट्सएप तथा सामसङ कम्पनीमा लाखौँ रुपैयाँ चिट्ठा परेको भन्दै ठग्ने आपराधिक समूह सक्रिय भएका छन् । मोबाइल नम्बरमा फोन गरी तपाईंले प्रयोग गर्नुभएको मोबाइल नम्बर लक्की ड्रमा परेको छ, तपाईंलाई बधाई छ ।
५० लाख रुपियाँ पुरस्कार परको भन्दै बधाई दिने गरेको पाइएको छ । उनीहरूले पुरस्कार परेको व्यक्तिको खाता नम्बर माग्ने र त्यस खातामा रकम पठाइदिने आश्वासन आइरहेको सम्बन्धित ब्यक्तिले बताएका छन् ।
चिट्ठा, लट्री वा लक्की ड्रमा परेको रकम झिक्न पहिला राजस्व तिर्नुपर्ने प्रावधान रहेकाले सुरुमा रकमअनुसार २५ देखि ५० हजारसम्म रकम कम्पनीको खातामा तिर्नुपर्ने कुरा आएपछि आफू पछाडि हटेको ठगिनबाट जोगिएकाले बताएका छन्। तपाईंले प्रयोग गर्दै आइरहनुभएको ह्वाट्सएप तथा सामसङ मोबाइल प्रयोग गरेबापत यसरी मोबाइलमा फोन तथा ह्वाट्सएपमा शुभकामनासहित लाखौँ रुपियाँ चिट्ठा परेको म्यासेज आउने गरेको छ।
तपाईंको नाउँमा चिट्ठा परेको भन्दै नागरिकतासहित बैङ्क एकाउन्ट नम्बर पटकपटक मागेको महागढीमाई नगरपालिका–३ का मुन्नाप्रसाद कलवारले बताए । यसैगरी सोही नगरपालिका वडा नं.१० बस्ने बैजुलाल यादवको मोबाइलमा यस्तै भ्वाइस मेलसहित म्यासेज आएको छ। बैजुलालको मोबाइलमा ५० हजार यूएस डलर चिट्ठा परेको तथा रकम लिन एसबीआई बैङ्क भारतका प्रबन्धक देवराज मलहोत्राको मोबाइल नम्बर ०९१ ९७०७४४३७०६ मा सम्पर्क गर्न ह्वाट्सएप कम्पनीले अनुरोध गरेको यादवले बताएका छन् । यसैगरी सोही ठाउँका गणेशप्रसाद साहको मोबाइलमा सामसङ कम्पनीले दुई पटक गरी १६ हजार रुपियाँ एसबीआई बैङ्कको खातामा रकम पठाएको म्यासेज आएको छ।
सामसङ कम्पनीको मोबाइल प्रयोग गर्दै आइरहेकाले तपाईंको नाउँमा यसरी चिट्ठा परेको भन्दै रकम पठाइएको कम्पनीले जनाएको छ ।
उनले भने, “नेपाल तथा भारतको एसबीआई बैङ्कमा खाता नरहे पनि मेरो नाउँमा कसरी रकम आयो आफैँ अचम्मित भएँ ।” कम्पनीले रकम लिन पटकपटक म्यासेज पठाउने गरेको उनले जानकारी दिए ।
यसैगरी स्थानीय शङ्कर प्रसाद पण्डित, मञ्जुर मियाँ र मनोजप्रसाद साह तेलीलगायतको मोबाइलमा लाखौँ रुपियाँ चिट्ठा तथा लक्की ड्र परेको म्यासेजसहित ह्वाट्सएपबाट फोन आउने गरेको उनीहरूले बताएका छन् ।
केही दिनदेखि लाखौँको चिट्ठा परेको भन्दै प्रलोभन देखाएर पहिला राजस्वको नाउँमा आफ्नो खातामा रकम जम्मा गराई सो रकम झिकेर सम्पर्कमा नआउने गरेकाले यस्ता कुराका भ्रममा नपर्न बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाही आग्रह गर्दछन् । तपाईंलाई लक्की ड्र पर्यो भनेर लाखौँको ठगी गर्ने गिरोह सक्रिय रहेको हुँदा कसैबाट यस्तो फोन आएमा तत्काल प्रहरीलाई खबर गर्न उनले आग्रह गरे ।
यसअघि पनि जिल्ला प्रहरी कार्यालय बाराले लक्की ड्र को नाममा चार जनालाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाएको छ । गोरखापत्र
प्रकाशित: १७ आश्विन २०७८, आईतवार